साउन २०, पैयुँ । पर्वतको पैयुँ गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा बजेट सकाउन सडक निर्माण गर्दा नागरिकले सास्ती भोग्नु परेको छ । आर्थिक वर्षको अन्तिम समय असारमा पैयुँ गाउँपालिका वडा नम्बर ४ देउराली-भञ्ज्याङ- अमलडाँडा हुदै पात्नेथर जाने सडक खन्दा अहिले नागरीकले समस्या भोग्नु परेको हो ।
२० लाख रुपैयाँमा लगानीमा खनिएको उक्त सडकमा अहिले दैनिक सवारी साधन आवात जावत समेत गर्न समस्या परेको स्थानिय प्रकाश न्यौपानेले बताउनु भयो । उहाँले गाउँपालिकाले असारमा लगानी गरेको बजेट बालुवामा पानी खनाए सरह भएको बताउनु भएको छ ।

बाटोको कारण आवत जावत गर्न समस्या भए पछि सिर्जनशिल युवा संमाजका युवाहरुले पटक पटक गाउँपालिकामा खबर गरेको तर पालिकाबाट कुनै सुनुवाई नभएको युवाहरुको भनाई छ ।
पुरानो सडकलाई स्तरोन्नती गर्दा झन बिग्रीय पछि युवाहरुले समाजिक सञ्जालमा आक्रोस समेत पोखेका छन ।
सडकमा दैनिक जिप फसिने र युवाहरुले घण्टौ लागेर निकाल्ने गरेका छन । उक्त सडक बिग्रीदा बिरामीलाई अस्पताल पुर्याउन समेत समस्या परेको छ ।
यसरी नै हरेक वर्ष पैयूँ गाउँपालिकाको सात वटै वडाका सडक आर्थिक वर्षको अन्त्यमा गाउँपालिकाले खन्दै आइरहेको छ ।
