वालिङ,५ भदौ । वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाउने गरी सञ्चालनमा ल्याइएको परियोजनाको समिक्षा तथा वित्तीय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङले दीर्घकालिन योजनाका आधारमा अगाडि बढिरहेको जानकारी गराउनु भयो । उहाँले ‘बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर दीगो आर्थिक बृद्धिका लागि नगरमा काम भईरहेको उल्लेख गर्नुभयो ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालि कार्यक्रममा नगर प्रमुख खाँणले आधुनिक प्रविधिको प्रयोग स्मार्ट सिटि बनाउनको लागि गतिलो आधार भएको बताउनु भयो ।
परियोजनाले मानिसको दिमाग परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै उत्पादन बृद्धिमा सहजीकरण र सहयोग गरिरहेको खाँणको भनाई छ । उहाँले ‘नगरपालिकासँग सहकार्य र समन्वयले नै परियोजना सञ्चालन भईरहेको र कोभिड प्रभावितहरुलाई उद्यमी बनाउन सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै युएनडिपीका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिक प्रविधिको प्रयोगले कृषक तथा उद्यमीहरुलाई निकै सहयोग पुग्ने बताउनु भयो । उहाँले वित्तीय क्षेत्रको प्रविधिले नगद कारोबार घटाउने मात्रै होईन दैनिक जीवनमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उत्पादन र उत्पादकत्व बृद्धिका लागि स्थानीय अगुवा कृषक तथा उद्यमीहरुलाई स्रोत व्यक्तिको रुपमा प्रयोग गर्नु पर्नेमा अर्यालको जोड छ । अर्यालले उत्पादनको लेवलिङ तथा ब्राण्डिङ गरेमा बजारीकरण गर्न सहज हुने बताउनु भयो ।