Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पहिरो रोकथामकालागि प्रभावित क्षेत्रको अवलोकन

पहिरो रोकथामकालागि प्रभावित क्षेत्रको अवलोकन

  • PNN Times
  • शनिवार, आश्विन २ २०७८


  • पहिरो रोकथामकालागि प्रभावित क्षेत्रको अवलोकन
    तोलाकान्त बगाले

     असोज २, वालिङ । 

    वालिङ १४ तमादीमा गतवर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ । वालिङ नगरपालिका र गण्डकी प्रदेश भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउनका लागि योजना बनाउन लागिएको हो ।

    सडक विभागले खनेको बाटोका कारण गतवर्ष असोजमा माथिबाट पहिरो आएसँगै एकैघरका ९ जनाको पुरिएर मृत्यु भएको थियो भने पशुचौपायाहरु मरेका थिए । पहिरोका कारण घरै भत्किएपछि चार घर विस्थापित भएका छन् ।

    गतवर्ष पहिरो गएको ठाउँभन्दा माथि जमिन चर्किएकाले त्यसको रोकथाम र बाढी पहिरो गईसकेको ठाउँमा नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुकाबारेमा ईञ्जिनियरहरुको टोलीले अध्ययन गरेर कुन ठाउँमा के विधि अपनाउँदा प्रभावकारी हुन्छ सोही अनुसार योजनासहित अगाडि बढ्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    आगामी दिनमा थप क्षति हुन नदिनकालागि माटोको अवस्था हेरी जाली लगाउने, पर्खाल लगाउने र बायोईन्जिनियरिङ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम तथा नियन्त्रण गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।
    पहिरोका कारण विस्थापित बनेका परिवारहरुका लागि जग्गा छनोट र आवास निर्माणका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

    भू संरक्षण तथा जलाधार डिभिजन कार्यालयका बरिष्ठ अधिकृत दिवाकर पौडेलले नगरपालिकासँगको सहकार्यमा यस ठाउँमा छिट्टै काम सुचारु गर्ने बताउनुभयो । 

    शनिवार, आश्विन २ २०७८०७:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend