केपी खनाल
कार्तिक ११,गल्याङ ।स्याङ्जाको गल्याङमा दुग्ध उत्पादक सहकारी संस्थाले सार्वजनिक सुनुवाई गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर ८, झोल्पेमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी विहिबार सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा सञ्चालित उप आयोजना अन्तर्गत उन्नत गाई भैंसीपालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई गरिएको हो ।जम्मा २ करोड १ लाख ८४ हजार ७ सय ९२को उप आयोजनामाका लागि आयोजनाले कूल लागतको ५१ प्रतिशत हुन आउने १ करोड अनुदान प्रदान गरेको हो । कूल लागतमा अनुग्राहिको २० दशमलव ६ प्रतिशत र बाँकि बैंक वित्तीय संस्थाको कर्जा लगानीमा उप आयोजना सम्पन्न गरिने सहकारीले जनाएको छ ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई नगरपालिकाले सहयोग गर्दै आएको र अझै धेरै अनुदानको व्यवस्था गर्न आँफु तयार रहेको बताउनुभयो ।उहाँले देशको सबैभन्दा ठूलो शक्ति, कृषक हुन र उनीहरुलाई अनुदान दिन कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो ।उहाँले नगरपालिकाको पहलमा विभिन्न अनुदानहरु ल्याइरहेको र नगरपालिकाले पनि अनुदानको व्यवस्था गरिरहेको बताउनुभयो ।
दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसानमा उत्साह थपिएको नगर प्रमुख अधिकारीको भनाई छ ।
देशमा फैलिएको कोरोना संक्रमणका कारण नगर भित्र धेरै काम गर्न बाँकी रहेको भन्दै उत्साहका साथ काममा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट सबै किसानहरुलाई सहयोग गर्न शाखा तयार रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा उपआयोजनाका व्यवस्थापक रामचन्द्र खरालले आयोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।