कात्तिक १७, स्याङ्जा । नेपालीहरुको दोस्रो ठूलो पर्व शुभ दिपावलीका अवसरमा स्याङ्जाको वालिङमा दिपावली साँझ हुने भएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्र वालिङले दिपावलीको पूर्व सन्ध्यामा सप्तक संगीत दिपावली साँझ २०७८ को आयोजना गर्ने भएको हो ।
संगीत साँझको आयोजना बारे जानकारी दिन बुधबार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । २०७८ को नयाँवर्षसँगै संगीत, गायन, नृत्य तथा अभिनयको कक्षा सञ्चालन गर्दै आएको सांस्कृतिक केन्द्रले पहिलो पटक सांगितिक कार्यक्रमको आयोजना गरेको हो ।
कोभिडले थलिएको संगीत क्षेत्र र सुस्ताएका दर्शकमाँझ उत्साह जगाउने प्रयास स्वरुप दिपावली साँझको आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैह्रेले जानकारी दिनुभयो । संगीत र संस्कृति सम्बन्धी प्रशिक्षण केन्द्रको रुपमा यही बैशाखमा स्थापित केन्द्रले कला, संगीत र नृत्यको प्रशिक्षण दिँदै आईरहेको छ ।
लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालन गर्नुभएका गैह्रेले स्याङ्जामै नमूना संगीत प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको छ ।
कार्यक्रममा आधुनिक गायक रुपक डोटेल, कमेडियन मेक्सम गौँडेल, नृत्यकार अस्मिता रनपालको प्रस्तुति रहने अध्यक्ष गैह्रेले बताउनुभयो । यहि कार्तिक १९ गते साँझ साढे ६ बजेदेखि १० बजेसम्म आयोजना हुँने साँझमा स्थानीय कलाकार र केन्द्रका विद्यार्थीहरुले समेत आफ्ना प्रस्तुति राख्नेछन् ।
कार्यक्रममा २०० जना भन्दा बढी दर्शकले मनोरञ्जन लिनेछन् भने कार्यक्रमका लागि झण्डै ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
आजीवन संगीत क्षेत्रमा बिताउनुभएका गायन र नृत्य क्षेत्रबाट गरी १/१ जना सर्जकहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।
कार्यक्रमा खर्च कटाएर उठेको नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने, संगीत कोष स्थापना गर्ने र कोषबाट आर्थिक रुपमा कमजोर भएका तर संगीतमा रुची भएकाहरुको प्रोत्साहन गरिने केन्द्रका अध्यक्ष गैह्रेले बताउनुभयो ।
२ वर्षदेखि प्राय ठप्प रहेका संगीत क्षेत्रमा उर्जा थप्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने कलाकार अर्जुन गैह्रेले बताउनुभयो ।