कात्तिक १७, स्याङ्जा । सडक डिभिजन कार्यालय पोखराको वेवास्ताका कारण जीर्ण बनेको सिद्धार्थ राजमार्गका खाल्डा–खुल्डी माटोले पुर्न स्याङ्जाका स्थानीय तह बाध्य भएका छन ।
पर्यटकीय क्षेत्रहरु लुम्बिनी र पोखरालाई जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा अत्याधिक खाल्डा खुल्डी देख्न सकिन्छ । राजमार्गको हरेक घुम्तीमा ठुला ठुला खाल्डा–खुल्डी धेरै भएपछि राजमार्गसँग जोडिएका स्थानीय तहले बुधबार राजमार्ग मर्मत गर्न अभियान नै चलाए ।

कालोपत्रे सडकमा परेका खाल्डाहरुको दीर्घकालीन समाधान गर्न कालोपत्रे नै गर्नु पर्दथ्यो,तर पनि चाडपर्वको बेला माटोले खाल्डा पुरेर भएपनि नागरिकलाई सहज गराउन यो अभियान चलाएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेल बताउँछन । पौडेलले नै यो अभियान चलाउन जिल्लाका स्थानीय तहलाई आग्रह गरेका थिए ।
पौडेलको आग्रह पछि राजमार्गसँग जोडिएका स्याङ्जाको गल्याङ, वालिङ, भीरकोट,पुतलीबजार, चापाकोट नगरपालिका र फेदिखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने खाल्डा–खुल्डी पुरेका छन । स्थानीय तहसँगै सुरक्षाकर्मी र सडक डिभिजन कार्यालयका केही कर्मचारी यो अभियानमा सरिक भएका थिए ।
राजमार्गमा स्थानीय तहले खाल्डा–खुल्डी पुर्नु दीर्घकालीन समाधान नभएको पुतलीबजार नगरपालिकाका नगरप्रमुख सिमा क्षेत्रीले बताईन । ‘सिद्धार्थ राजमार्ग संघीय सरकारको माताहतमा पर्दछ, सोही अन्तरगत सडक डिभिजन कार्यालयले यसको मर्मत संभार गर्नुपर्छ’नगर प्रमुख क्षेत्रीको भनाई छ ।
सडक डिभिजन कार्यालयले सडक मर्मतको लागि वेवास्ता गरेको यो पहिलो पटक भने होईन । वर्षौ देखि भत्किएको सडक मर्मत गर्न कार्यालयले तत्काल कुनै पहल नगरेको स्थानीय तहहरुको गुनासो छ । यहाँ सम्मकी सरोकारवाला निकायले पटक पटक खबरदारी गर्दा समेत कार्यालयले चासो देखाउँदैन ।सडकमा भएका खाल्डा–खुल्डीकै कारण कयौँ पटक सवारी दुर्घटना समेत भएका छन् ।

सडक डिभिजन कार्यालयले जहाँ समस्या छ त्यहीँ काम गर्नुपर्दथ्यो तर त्यसो नगर्दा समस्या भएको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दास बताउँछिन । उनले सडक डिभिजन कार्यालयले जीर्ण सडकको मर्मत गर्नुपर्ने र केन्द्रिय सरकारले राजमार्गलाई तत्काल फराकिलो बनाउनु पर्नेमा जोड दिईन ।
कालोपत्रे सडकमा माटोले खाल्डा–खुल्डी पुर्दा थप समस्या हुने सवारी चालक तथा राजमार्ग आसपासमा बसोबास गर्ने नागरिकहरुको गुनासो छ । यसलाई दीर्घकालीन रुपमा समाधान गर्न कालोपत्रे नै गर्नुपर्ने उनीहरुको माग छ ।
