कात्तिक २९, गण्डकी । एसियाकै सबैभन्दा ठुलो धार्मिक स्थलमा रहेको पर्यटकीय क्षेत्र शिला शालिग्रामको अस्तित्व संकटमा पर्दैगएको छ । शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल बाढीले बगाएपछि शिलाको अस्तित्व नै संकटमा परेको हो ।
स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतिवेणीमा रहेको शिला शालिग्राम एसियाकै ठूलो धार्मिक स्थल हो । यही शिलालाई परिक्रमा गर्न बनाइएको परिक्रमास्थल सात वर्ष पहिले कालीगण्डकी नदीमा आएको बाढीले बगाएको थियो ।
बाढीले बगाएको सात वर्ष पुग्दा पनि यस्को मर्मत हुन नसक्दा यहाँ आउने पर्यटकले शिलाको परिक्रमा गर्न पाउँदैनन् । पहिले शिलालाई परिक्रमा गरेर पूजा गर्ने धार्मिक पर्यटकहरु अहिले परिक्रमास्थल मर्मत नहुदा शिलालाई परिक्रमा गर्न पाउँदैनन् । शिलालाई परिक्रमा गर्न नपाउदा तिर्थ यात्रा अपूर्ण भएको तिर्थ यात्रु काशिराम गौतमले बताउनु भयो ।

भगवान् विष्णुको अवतारका रुपमा लिइने शिला, परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । त्यही विश्वासमा यहाँ वैशाख संक्रान्ति, ठुली एकादशि, माघेसक्रान्ति लगायत विभिन्न समयमा धार्मिक मेला लाग्ने गर्छ । मेला बाहेक अन्य समयमा पनि कालिगण्डकीमा र्याफ्टिङ, बोटिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटक र विवाह तथा ब्रतबन्ध गर्न पनि यहाँ आउँछन् ।

गण्डकी प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि घोषणा गरेको एक सय वटा पर्यटकीय क्षेत्रमा शिला शालिग्राम पनि पर्दछ । तर यसको संरक्षण र घेराबेराको काम गर्न अहिलेसम्म कुनै निकायले चासो लिएको छैन ।