मंसिर १६, पर्वत । पर्वतका छ वटा स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम गरिने भएको छ । यही मंसिर १७ गतेदेखि २६ गते सम्म नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
फलेवास नगरपालिका,जलजला, पैयूँ, विहादी, मोदी, र महाशिला गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ ।
पैयूँ गाउँपालिकाको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने पैयूँ गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बिहीबार बसेको बैठकबाट गाउँपालिकाका सात वटै वडाका वडा अध्यक्षहरुले सहजीकरण गरी छुट रहेका नागरिकलाई इलाका प्रशासन सम्म पठाई मतदाता नामावली संकलन गर्न सहयोग गर्न अनुरोध गरेको छ ।

फोटोसहितको नामावली दर्ता गर्न छुटेका र नागरिकता पाएका सबै नागरिकले नाम दर्ता गराउन पाउनेछन् । नागरिकता जारि भएको जिल्ला र स्थानिय तहको वडाभन्दा अन्यत्र बसाइसराइ गरेको भए कागजपत्र प्रमाणपत्र भएमा बसोबास गरेकै क्षेत्रमा नाम दर्ता गर्न सकिन छ ।
१६ वर्ष उमेर पुगेपछि नागरिकता लिने सबैले मतदाता नामावली दर्ता गरेपनि १८ वर्ष पुगेपछि मात्रै मतदान गर्न पाउनेछन् । विगतमा फोटोसहितको मतदाता नामावलीमा दर्ता गराइसकेकाले फेरि नाम दर्ता गर्नुपर्नेछैन ।