मंसिर २२, स्याङ्जा । स्याङ्जाको वालिङमा नर्सरी व्यवस्थापन तालीम सञ्चालन गरिएको छ । वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तथा आलुखेति सम्बन्धी तालीम सञ्चालन गरिएको हो । कृषकहरुको माग र आवश्यकताका आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तथा आलुखेति सम्बन्धी तालिम प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत वडा तहमा तालिमको आयोजना गरिएको हो ।
तालीममा तरकारी लगाउने तरिका,बेर्नाको संरक्षण र रोपण लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
यसैगरी समूहगत तथा व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका कृषकहरुलाई आलु लगाउने,हुर्काउने,खन्ने र बिउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी गराईएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का पूर्व बरिष्ठ बैज्ञानिक तथा आलु बिज्ञ डाक्टर भिमबहादुर खत्रीले उनीहरुलाई आलु खेतीका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।
वालिङ नगर भित्रका कृषकहरुले बिभिन्न सहकारी र समूह नै बनाएर आलु खेती गर्न सुरु गरेकाछन् । कृषकहरुको मागका आधारमा खेतमा नै गएर कृषकहरुलाई आलु खेती सम्वन्धमा प्रयोगात्मक तालीम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।