तोलाकान्त बगाले
पौष २७, स्याङजा । पुस २७ गते राष्ट्रिय एकता दिवसका दिन स्याङ्जाको वालिङ नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । वालिङ नगरपालिकाले आज एक सूचना जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै वालिङ नगरभित्रका सरकारी कार्यालयहरु तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“पृथ्वीनारायण शाहले नेपाललाई राष्ट्रिय एकताको सुत्रमा बाँध्नुभयो, राष्ट्रिय एकताको अभियानमा लाग्नुभयो” नगर प्रमुख खाँणले भन्नुभयो, “राष्ट्रनिर्माता शाहको जन्मजयन्तीलाई सभ्य र भब्यरुपमा मनाउँदै उहाँको सम्मानमा एकदिन सार्वजनिक बिदा दिईएको हो ।”
यसअघि विश्व हिन्दु युवा संघ स्याङ्जाले गत शुक्रबार पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनकालागि सार्वजनिक बिदा दिन माग गरेको थियो ।