माघ ५, स्याङ्जा । स्याङजाको वालिङमा दलित महिलाहरुको राजनैतिक नेतृत्व सुनिश्चितताको विषयमा अन्तरक्रिया गरिएको छ । दलित महिलाहरुलाई आगामी निर्वाचनमा नेतृत्वतहमा कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि र राजनैतिकदलका प्रतिनिधिहरुसंँग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँणले संविधानमा सबै बराबर भनेर लेखिए पनि कानुन नबन्दा व्यवहारमा लागु नभएको बताउनु भयो । उहाँले संविधानमा लेखेर मात्र नहुने कार्यान्वयनमा ल्याउन कानुन बनाउनु पर्ने र पछाडि परेका वर्ग पनि आफ्नो अधिकार खोज्न अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
दलित समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्नका लागि वडामा एक दलित महिला एक पुरुष रहने गरी कानुनी व्यवस्था हुनुपर्ने नगरप्रमुख खाँडको भनाई छ । अहिले एक मात्र दलित महिला रहने व्यवस्था कानुनले गरेको छ सोही अनुसार निर्वाचित भएका जनप्रतिनिधीहरुले आफ्नो समुदायको आवाज उठाउन नसकेको भन्दै एक महिला एक पूरुष भएमा थप शसक्त रुपमा समुदाएको नेतृत्व रहने नगर प्रमुख खाँडले व्यक्त गर्नु भयो ।
कार्यक्रममा वालिङ नगरपाकिाल भित्र रहेका विभिन्न राजनीतिक दल, संघसंंस्था, लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
दलित महिलाकेन्द्र नेपाल र वालिङ नगरपालिकाको आयोजना तथा दि एशिया फाउन्डेसन र अष्ट्रेलियन राजदुतावासको साझेदारीमा सञ्चालित स्थानीय सरकार सवलीकरणको सहयोगमा कार्यक्रम गरिएको हो ।

