माघ ९, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयका सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा कोभिड संक्रमण बढिरहेका बेला प्रशासनका विभिन्न फाँटका कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टी भएको र केहिको रिपोर्ट आउन बाँकी रहेकाले सोमबारदेखि अर्को सूचना नआएसम्मका प्रशासनको सेवा बन्द गरिएको उल्लेख छ ।
अन्य कर्मचारीहरुमा समेत कोभिडसंँग मिल्ने लक्षण देखिएकाले सेवा प्रवाहमा समस्या उत्पन्न भएकाले कार्यालयको शान्ति सुरक्षा अत्यावश्यक सेवा बाहेकका नागरिकता, राहदानी, राष्टिय परिचय पत्र, संघसंस्था दर्ता, नविकरण, हातहतियार नविकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।