फागुन २, प्रथम शहिद लखन थापालाई १४५औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय विभुति घोषणा गर्न माग गरिएको छ । सोमबार स्याङ्जाको वालिङमा प्रथम शहिद थापाको १४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो माग गरेका हुन् ।
प्रथम शहिद थापाको योगदान र जीवनीलाई पाठ्यक्रममा समावेश गरी हरेक नेपालीले उहाँको योगदान र त्यागलाई अध्ययन गर्न पाउनुपर्ने वक्ताहरुले जोड दिएका हुन् ।
नेपाल मगर संघ वालिङ नगरद्वारा आयोजित कार्यक्रमका वक्ताहरुले उहाँको नाममा सरकारी प्रतिष्ठान गठन गर्नुपर्ने समेत माग गरेका छन् ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य खगिसरा थापाले सामाजिक तथा राजनितिक परिवर्तनका लागि शहिद भएका स्व. थापालाई राष्ट्रिय विभुति माग गरी देशव्यापी रुपमा उहाँको स्मृति तथा जन्मजयन्तीलाई मनाउनुपर्ने बताउनुभयो ।
देशमा परिवर्तन ल्याउनका लागि ज्यानको आहुति दिएका थापाको सम्मान स्वरुप उहाँको जीवनी र त्यागलाई पाठयक्रममा समावेश गरिनुपर्ने उहाँको भनाई छ ।