फागुन ५,स्याङ्जा । स्याङ्जाको गल्याङमा १ हजार ७ सय बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा नगरपालिकाद्वारा १ हजार ७ सय बंगुरका पाठापाठी वितरण गरिएको हो ।
किसानको मागका आधारमा नगरपालिकाका ११ वटै वडामा बंगुरका पाठापाठी वितरण गरिएको छ । वडा नम्बर ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम भैरहेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जानकारी गराउनुभयो ।
नगर प्रमुख अधिकारीले अनुदान वितरण कार्यक्रममा सहकारीलाई सहभागी गराउने नीतिअनुसार सहकारीलाई जिम्मा दिइएको बताउनुभयो ।
उहाँले दूूध उत्पादनका साथै मासुमा पनि गल्याङलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो ।
नगरप्रमुख अधिकारीले बाख्रा पालनका लागि नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) मार्फत काम भैरहेको भन्दै बंगुर पालनका लागि नगरपालिकाले आफै कार्यक्रमको संयोजन गरेको व्यक्त गर्नुभयो ।
उहाँले पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी गराउदै किसानको उत्साहको आधारमा थप रकम विनियोजन गरेर बंगुरको मासु र पाठापाठीमा आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो । नगरप्रमुख अधिकारीले अहिले वितरण गरिएको पाठापाठीबाट अर्को वर्ष दश हजार पाठापाठी र तीन करोडको मासु उत्पादन हुने अपेक्षा गरिएको बताउनुभयो । यस आधारमा दुई वर्षमा दुई अर्बको बंगुरको मासु र पाठापाठी उत्पादन गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।
उहाँले उत्पादित मासु र पाठापाठी विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएकाले किसानहरु ढुक्कसँग बंगुरपालन व्यवसायमा लागेको बताउनुभयो । भविश्यमा पोखरा तथा बुटवलमा सहकारी मार्फत आफ्नै कोल्ड स्टोर स्थापना गरी विक्रीको व्यवस्थापन गर्न सकिने पनि बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बंगुरपालक किसानहरुका लागि तालिमकोसमेत व्यवस्था गरिएको बताउनुभयो । उहाँले विभिन्न १५ स्थानमा किसानलाई आवश्यक तालीम पनि दिइएकाले तोकिएको लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।