फागुन २४ , पर्वत । पर्वतको मोदी गाउँपालिका वडा न ४ क्याङमा निर्माण भएको क्याङ स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले स्वास्थ्य चौकी भवनको उदघाटन गर्नु भएको हो ।
भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार भए पनि अझै पनि त्यो अधिकार नागरिकले नपाएकोमय दुःख ब्यक्त गर्नुभयो। स्वास्थ्य सेवा विस्तारमा ग्रामीण क्षेत्रहरुमा अझै पनि समस्या रहेको तिमिल्सीनाको भनाई छ ।
भवन बन्दैमा सेवा प्रवाहमा गुणस्तरीयता नहुने भन्दै उहाँले सक्षम जनशक्ति उपलब्ध भए मात्र सेवा प्रवाह राम्रो हुने धारणा राख्नु भयो । अध्यक्ष तिमिल्सीनाले जिल्लाबासीको विकास आयोजनाहरुका बारेमा धेरै मागहरु भएका कारण ति सवै मागहरु पुरा हुन नसकेको समेत बताउनु भयो ।

उहाँले सडक कालोपत्रे देखि शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई तथा पूर्वाधार क्षेत्रमा निकै ठूला परिर्वतनहरु पर्वत जिल्लामा भए पनि ति मानवीय आकाक्षाहरु अधिक रहेका कारण सवै मागहरु तत्कालै पुरा हुन नसकेको बताउनु भयो । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिका बाट भएका कामहरुको बारेमा प्रष्ट पार्नु भयो।