जेठ १९, पर्वत । पर्वतको पैयूँमा डल तथा कुशन बनाउने तालिम सुरुवात भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ५ मा निशुल्क डल तथा कुशन तालिम सुरु भएको हो ।
तालिमको पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले उद्घाटन गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एंव पैयूँ गाउँपालिकाका उपाध्यक्ष रानाले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उपाध्यक्ष रानाले यस किसिमका तालिमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनु भयो । साथै उहाँले सबै महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले अन्य वडाहरुमा पनि तालिम आयोजना जानकारी दिनुभयो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत गृहिणी दिदीबहिनीहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले जानकारी दिनुभयो । भुर्तेलले आगामी दिनमा महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर गराउने खालका अन्य तालिमहरु वडाबाट पनि संचालन गर्ने बताउनु भयो ।
पैयूँ गाउँपालिकाको आयोजना, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग र सहयात्रा विकास केन्द्र नेपालको सहजिकरणमा तालिम सञ्चालन गरिएको हो । उक्त तालिममा २५ जना दिदीबहिनीहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।
