असार ४,वालिङ ।वालिङ नगरपालिकाले निःशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना गरेको छ । आर्थिक अवस्था कमजोर रहेका ग्रामिण क्षेत्रका महिलाहरुको पाठेघरको क्यान्सर स्क्रिनिङ,आङ खस्ने समस्या, यौन रोग तथा आँखा जाँच शिविरको आयोजना गरेको हो ।
वालिङ १०,बझाकोटमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले आफ्नो स्वास्थ्य सबलतामा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुको स्वास्थ्य पुरुषको तुलनामा संवेदनशील हुने भएकोले अझै बढी सचेत रहन मन्त्री अधिकारीले जोड दिनुभयो । ग्रामिण इलाकाका महिलाहरुमा अझै पनि रोग लुकाएर बस्ने समस्या रहेकाले महिलाहरुमा स्वास्थ्य सचेतनाको विकास हुनुपर्ने मन्त्री अधिकारीले सुझाव दिनुभयो । साथै मन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकाले सहज स्वास्थ्य सेवाको पहँुच नागरिकमाझ पु¥याउन सरकार लागि परेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले महिलाहरु स्वस्थ भए परिवार नै स्वस्थ हुने उल्लेख गर्नुभयो ।उहाँले शिविरको आयोजना गरी महिलाहरुलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउने नगरपालिकाले प्रयास गरेको बताउनुभयो ।स्थानीय सरकारले गाउँमै आएर यसरी स्वास्थ्य सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गरेका छन् । गाउँका महिलाहरुको आर्थिक अवस्था कमजोर भएकाले कुनै रोग लागेपनि अस्पतालसम्म पुग्न नसक्ने बताउँदै गाउँमा शिविर सञ्चालन हुँदा ग्रामिण इलाकाका नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउने बताएका छन् ।
शिविरमा १ सय १० जनाले आँखा जाँच गराएका छन भने १ सय ३० जनाले पाठेघर सम्बन्धी सेवा लिएको आयोजकले जनाएको छ ।