११ असार, २०७९ वालिङ
स्याङ्जाको वालिङ नगरपालिकालाई बाख्रापालन महासंघले माग पत्र पेश गरेको छ । शनिबार वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रमसहित नगरस्तरीय बाख्रापालन महासंघ वालिङले व्यवसाय प्रवद्र्धनका लागि नगरप्रमुख कृष्ण खाँडलाई मागपत्र पेश गरेका हुन् ।
महासंघका अध्यक्ष अर्जुन पङ्गेनीद्वारा हस्ताक्षरित मागपत्रमा नियमित खोप सेवा, आन्तरिक परजीवि विरुद्ध औषधी उपचार सेवा, कृत्रिम गर्भाधान सेवा निशुल्क र प्रभावकारी रुपमा सञ्चालनको व्यवस्था गराउन उल्लेख गरिएकोे छ । यसैगरी कम्तिमा प्रत्येक वडामा बाख्रा तथा कृषि संकलन केन्द्र स्थापना गर्ने, पशु बीमा निःशुल्क हुनुपर्ने र व्यावसायिक फर्महरुको वर्गीकरण गरी प्रजननका लागि बीउ र कृषि फर्म तथा मासु उत्पादन फर्मको रुपमा सूचिकृत गरिनुपर्ने माग गरिएको छ । नगरस्तरीय बाख्रा व्यावसायी महासंघको प्रतिनिधि समेतको पशु विकास कार्यदल मार्फत अनुदान कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, फर्महरुमा दक्ष प्राविधिकबाट मासिकरुपमा अनुगमन गरी सुझाव दिनुपर्ने माग पत्रमा उल्लेख छ ।
नगरभित्र अनुमति बिना बाहिरबाट बाख्रा ल्याउन नदिने र नगरभित्र कृषि एम्वुलेन्सको व्यवस्था गरिनुपर्ने माग पत्रमा भनिएको छ । यसैगरी चर्को व्याजबाट व्यावसायीहरु धरासायी भैरहेकाले व्यावसायीलाई परियोजनाका आधारमा सहुलियत ऋण प्रदान गर्न नगरपालिकाबाट व्याज अनुदान कार्यक्रम सञ्चालन गरिनुपर्ने, बीउ पूँजीकोरुपमा व्यवसायीहरुलाई सस्तो व्याजदरमा बीउ पूँजी कोष मार्फत ऋण उपलव्ध गराउने लगायत २९ बुँदे माग पत्र महासंगले पेश गरेको छ ।
मागपत्र बुझ्दै नगर प्रमुख खाँडले कृषकहरुका मागका आधारमा कार्यक्रम अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । यस पटकको वार्षिक बजेटमा कृषिक्षेत्रको प्रवद्र्धनका लागि प्राथमिकता दिएको जानकारी गराउँदै नगर प्रमुख खाँडले बाख्रापालन लगायतका कृषि कर्मले स्वरोजगारी सिर्जना हुने बताउनुभयो । उहाँले आँफूपनि कृषि पेशा गर्दै आएको भन्दै व्यावसायिक कृषकको समस्याका बारे राम्रो हेक्का भएको उल्लेख गर्नुभयो । यसका साथै नगर प्रमुख खाँडले कृषि व्यावसायको प्रवद्र्धनका लागि नगरपालिका सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।