मणी अर्याल
भाद्र १५,वालिङ । स्याङ्जाको वालिङ नगरप्रमुख कृष्ण खांणले राष्ट्रिय स्तरमा रहेको वालिङको छवि तथा शानलाई जोगाउँदै समृद्ध नगर विकास गर्ने दायित्व रहेको बताउनुभएको छ । बुधबार पत्रकारहरुसंँगको भेटघाट कार्यक्रममा नगरप्रमुख खांणले ‘वालिङको छविलाई जोगाउँदै थप विकास गरी अझ उचो बनाउने दायित्व आँफूहरुमा रहेको बताउनु भएको हो । संस्थापक जनप्रतिनिधिदेखि निवर्तमान जनप्रतिनिधि लगायतको टिमले गर्दा नगरपालिका यहाँसम्म आईपुगेको भन्दै नगर प्रमुख खाँडले आभार व्यक्त गर्नुभयो ।
सरसफाई लगायत कार्यसम्पादनमा पुरस्कृत हुन सफल नगरपालिकामा रहेका समस्याको शुक्ष्मरुपमा पहिचान गरिने उहाँको भनाई छ । यहाँका धार्मिक तथा पर्यटकीय संभावनाहरुको खोजी गरी नमुना नगरपालिका बनाउने नगरप्रमुख खांणले उल्लेख गर्नुभयो । सम्भावना भएका स्थानहरुमा विज्ञहरुको सल्लाह लिएर वालिङमा चेक ड्याम बनाउने, बजार व्यवस्थित बनाउँदै ग्रामिण भेगका मूल सडकहरुलाई व्यवस्थित गर्ने र बाहै्रमहिना ओहोरदोहोर गर्न मिल्ने बनाउने नगरप्रमुख खांणले बताउनुभयो ।

जनप्रतिनिधि सबैको साझा रहेको भन्दै संकुचित सोँचलाई त्यागेर सोँच फराकिलो बनाएर काम गर्ने दायित्व जनप्रतिनिधिको रहेको उहाँको भनाई छ ।
पत्रकारले नै सहि गलत मार्ग निर्देश गर्न सक्ने र जनप्रतिनिधिलाई सचेत बनाउन सक्ने भन्दै पत्रकारहरुको सल्लाहअनुसार अगाडि बढ्ने प्रमुख खांणले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार जहिलेपनि जनप्रतिनिधिको प्रतिपक्षी र जनताको पक्षमा हुने भन्दै राम्रा काममा पत्रकारको साथ सँधै हुने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अनुशासन आयोगका केन्द्रीय सदस्य मुक्ति न्यौपाने, प्रेस युनियन स्याङ्जाका जिल्ला सभापति प्रदिप कोईरालालगायत पत्रकारहरुले नगरका धार्मिक तथा पर्यटकीय संभावनाहरुका बारेमा जानकारी गराएका थिए । आँधीखोला संरक्षण, सार्वजनिक सम्पत्तिको पहिचान तथा संरक्षण, शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गरी अगाडि बढ्न, सरकारी कार्यालयहरुका बेथिति अन्त्य गर्न, सिद्धार्थ राजमार्ग चौडा गर्ने विषय, पार्किङ स्थललगायतका विषयमा आ–आफ्ना सुझावहरु पत्रकारहरुले राखेका थिए ।