भाद्र २१,वालिङ ।स्याङ्जाका युवा वैदेशिक रोजगारी छाडेर बाख्रापालनमा आकर्षित भएका छन् । परिश्रम अनुसार तलव ठिकै भएपनि विदेशीको हेपाई सहनुभन्दा गाउँमा बाख्रापाल्न वेश हुने ठानेर ती युवा फर्केका हुन् ।
भारतमा ४ वर्ष र ५ वर्ष मलेशियामा काम गरेर फर्केका वालिङ नगरपालिका वडा नम्वर ४ तल्लो च्यारेका सूर्य अर्याल क्षत्री २०७६ सालदेखि आफ्नै गाउँमा बाख्रापाल्दै आएका हुन् । क्षत्रीले घरमै भएका पाँचवटा माउबाट वृद्धि गरी व्यावसाय अगाडि बढाएका हुन् ।पाँचवटा स्थानीय खरी बाख्राबाट सुरु गरेका क्षत्रीको सीतादेवि कृषि तथा पशुपालन फार्ममा अहिले करिव सयको हाराहारीमा बाख्रा छन् । क्षत्रीले खरी बाख्राबाट उन्नतजातको बोयर क्रसको नश्ल विस्तार गरेका छन् ।पूर्वाधार निर्माणसहित अहिलेसम्म क्षत्रीले २९ लाख लगानी गरिसकेका छन् ।

अब धेरै विदेश बस्नु हुँदैन बेलाछँदै सुरु गरियो भने उचित हुने ठानेर व्यावसायमा लागेको क्षत्रीले बताए । पशुका लागि घाँस मुख्य आधार हो, त्यसैले आफ्नै पाखोबारीमा घाँसको व्यवस्था गरेका छन् । क्षत्रीले झण्डै ४५ रोपनीमा घाँस लगाएका छन् । उनले सुपर नेपियर, इपिल इपिल, मेन्डोला, राइ खनियो, भटमासे, टियोसेन्टी, ग्वाटेमाला, सुडान, सनेम, बदामे, बडहर, टाँकी, निमारो, मुलाटी, सियोफोर तथा स्मार्ट नेपियर लगायतका घाँस लगाएका छन् । क्षत्री भन्छन्—“गाई भैंसी पालेर दूध विक्रिका लागि बजार टाढा छ । दूध विक्रि गर्न बजारसम्म पु¥याउनुपर्छ भने बाख्रा पाल्यौं भने ग्राहक घरमै आउने हुँदा पनि सजिलो लागेर बाख्रापालन रोजेको हो ।” कसैले बाख्रापालन गर्न खोज्छ भने मनदेखि चाहनुपर्छ, रहरको भरमा र अरुको देखेर व्यावसाय गर्नुहुँदैन । बाख्रामा त्यति दुःख छैन, दुई तीन वर्ष आम्दानी देखिदैन तर त्यसपछि कमाई हुँदैजान्छ । बाख्रापालनको भविष्य छ, विदेशमा कमाएर उहाँ होउन्जेलसम्म ठिकै हुन्छ, फर्केपछि केहि हुँदैन । परिवारसँग बसेर काम गर्नुको आनन्द नै बेग्लै हुने उनले भने ।तीस चालिस हजारका लागि विदेश गएर रुनु पर्दैन । विदेशमा जति नै राम्रो काम गरेपनि कामदारलाई हेयको दृष्टिले हेरिन्छ ।
यस कारण पनि आँफ्नै ठाउँमा गर्नुपर्छ भन्ने मान्यता बोकेर फर्केको क्षत्रीले बताए । व्यावसाय गरेको तीनवर्ष पुगिसकेको छ, यसमा सन्तुष्ट छु । भनिन्छ— या त आँफूले गरेको पेशालाई मन पराउनुपर्छ, या त मन परेको र चाहेको पेशा गर्नुपर्छ । यो मेरो चाहेको पेशा हो, कुनै दुःखको महसुस भएको छैन, काम गर्दा आनन्द र खुसी लाग्छ ।” क्षत्रीले यो वर्ष ८ लाख कमाइ गरेका छन् भने आगामि वर्ष १० लाखसम्म हुने उनको अनुमान छ ।क्षत्रीले स—साना अनुदान हात पारेका छन् तर कामको आधारमा नपाएको उनको गुनासो छ । काम गर्ने भन्दा नगर्नेले बढि अनुदान पाएको देखिन्छ, यो राम्रो होइन । बजार व्यवस्थापनमा सहजिकरण र सहुलियत कर्जाको व्यवस्था गरिदिने हो भने राम्रो हुने उनको धारणा छ ।