भाद्र-२७ । तिलोत्तमा नगरपालिकाले आफ्ना बालबच्चाहरु घरमा रहँदा, विद्यालय लैजादा ल्याउँदा तथा अन्य विभिन्न क्रियाकलापमा सहभागी गराउदा सावधानी अपनाउन आग्रह गरेको छ । नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै सिमाना जोडिएका छिमेकी पालिकाहरुबाट बच्चाहरु अपहरण गर्ने गरेका घटनाहरु दिनहुँ बढ्दै गईरहेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरु मार्फत जानकारीमा आएको भन्दै सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह गरेको हो ।
छिमेकी मुलुक भारतसँगको खुला सिमानाबाट नेपाल भित्रिएका अपरिचित व्यक्तिहरुको समूहले यस नगरपालिका क्षेत्र लगायत यससँग सिमाना जोडिएका छिमेकी पालिकाहरुबाट बच्चाहरु अपहरण गर्ने गरेका घटनाहरु दिनहुँ बढ्दै गईरहेको भन्ने विषयमा विभिन्न सञ्चारका साधन तथा सामाजिक सञ्जालहरु मार्फत जानकारीमा आएकोले सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबच्चाहरु घरमा रहँदा, विद्यालय लैजादा ल्याउँदा तथा अन्य विभिन्न क्रियाकलापमा सहभागी गराउदा सावधानी अपनाउनु हुन सबैमा जानकारी गराइन्छ ।’– नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै अपहरणका क्रियाकलापसँग सम्बन्धित विषयमा कुनै जानकारी प्राप्त हुन आएमा नजिकको प्रहरी चौकी, स्थानीय प्रशासन वा तिलोत्तमा नगर प्रहरीलाई तुरुन्त जानकारी गराउन नगरपालिकाले सबैमा आग्रह गरेको छ । हिजो मात्रै तिलोत्तमाको मंगलापुरमा शंकाष्पद ( हेर्दा इण्डियन जस्तो देखिने, हिन्दी भाषी ) व्यक्तिले बच्चा लिएर हिडेको र आज समेत भलवारीमा शंकाष्पद व्यक्ति भेटिएको थियो।