भाद्र ३०,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले निःशुल्क मृगौला डायलाईसिसका लागि ४ थान मेसिन उपलब्ध गराएको छ । वालिङ नगरपालिका १० फुलबारी सञ्चालित वालिङ सामुदायिक डायलाईसिस सेन्टरका लागि वालिङ नगरपालिकाको सहयोग तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा ४ थान मेसिन विहिबार हस्तान्तरण गरिएको हो ।
वालिङ नगरप्रमुख कृष्ण खांण, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख भुवन काफ्ले, निवर्तमान नगरप्रमुख दिलीपप्रताप खांण, उपपप्रमुख कविता तिवारी तथा रोटरी क्लबका अध्यक्ष सिता डुम्रे पाण्डे, क्लबका पूर्व अध्यक्ष राजेन्द्र डुम्रे तथा क्लबका अन्य पदाधिकारीहरुको सहभागितामा उक्त मेसिन हस्तान्तरण गरिएको हो । गतवर्षदेखि रोटरी क्लब अफ वालिङको पहलमा नगरपालिकाको सहयोगमा पूmलबारीमा डायलाईसिस सेन्टर सञ्चालन छ । सेन्टरमा स्याङ्जा सहित कास्की र पर्वतका मृगौला पिडित लाभान्वित भएका छन् ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा नगरपालिकाले निप्रो कम्पनीको करिव ७८ लाख पर्ने डायलाईसिस मेसिन उपलब्ध गराएको डायलाईसिस सेन्टरका कार्यालय प्रमुख अर्जुन तिवारीले बताउनुभयो । हाल सेन्टरमा ८ ओटा मेसिनबाट दैनिक दुई सिफ्टमा १५ जना मृगौला विरामीले डायलाईसिस गराउँदै आएका छन् । मृगौला विरामीको अवस्था अनुसार हप्तामा तीन, दुई र एक पटक डायलाईसिस हुन्छ । नगरपालिकाले उपलब्ध गराएको मेसिन र सेन्टरमा भएको मेसिन गरी १२ ओटा मेसिनबाट दैनिक २४ जनाको मृगौला डायलाईसिस हुने कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
हाल सेन्टरमा ४३ जनाले मृगौला डायलाईसिस गराउँदै आएका छन् ।
अहिले सेन्टरमा स्याङ्जाको दक्षिण भेग कालीगण्डकी, चापाकोट, वालिङ, पर्वतको वाहाकीलगायतका विरामीले सेवा लिइरहेका छन् ।