आश्विन ७ ,वालिङ । स्याङ्जाको वालिङमा १६ औं विश्व रेविज दिवस २०७९ का अवसरमा गोष्ठी तथा अन्तरक्रिया गरिएको छ । रेबिज सप्ताह कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाको आयोजना र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराको सहआयोजनामा गोष्ठी तथा अन्तरक्रिया शुक्रबार गरिएको हो ।
कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँडले पशु तथा मानव स्वास्थ्यसँग संबन्धित यस्ता गोष्ठी तथा अन्तरक्रियाले ठूलो महत्व राख्ने बताउनुभयो । नगर प्रमुख खाँडले जनचेतना अत्यन्त महत्वपूर्ण कुरा हो र यसको लागि विषयगत गोष्ठी तथा अन्तरक्रियाले ठूलो भूमिका खेल्ने बताउनु भएको हो ।उहाँले यस्ता कार्यक्रममा सिकेका कुरा अरुलाई सिकाएनौ वा हस्तान्तरण गरेनौ भने प्रभावकारी नहुने उल्लेख गर्नुभयो । पछिल्लो कालखण्डमा यस्ता तालीमहरु धेरै हुने गर्दछन् र यस्ता तालीम तथा गोष्ठीमा सिकेका कुरालाई सदुपयोग गर्नुपर्ने नगर प्रमुख खाँडले औंल्याउनुभयो ।
उहाँले भन्नुभयो—“ जसले कुनै फसलको बीउ छर्छ वा रोप्छ, त्यो बढ्दैजान्छ र धेरैजनाले लाभलिन सकिन्छ भने बीउ नछरेर यसै राख्नेको कुहिएर या सडेर जान्छ । ज्ञान पनि त्यही बीउ जस्तै हो, जति बाँड्यो वा छ¥यो उति वृद्धि हुँदै जान्छ । त्यसैगरी आँफूले सिकेको ज्ञान र सीप अरुलाई दिने गर्दा त्यसले सार्थकता प्राप्त गर्छ ।”
हामीले सिकेको सीप र ज्ञान समाजमा लगेर बाँड्न सक्यौं भने बढेर जान्छ र यत्तिकै बस्यौं भने त्यो मरेर जान्छ । यसका साथै राष्ट्रको सम्पत्ति र आँफ्नो समय पनि दुरुपयोग हुने नगर प्रमुख खाँडले व्यक्त गर्नुभयो । घर पालुवा जनावरका साथै मानव स्वास्थ्यसँग सम्बन्धित गोष्ठी तथा तालीमले हाम्रो जीवनमा ठूलो महत्व राख्ने भएकाले सिकेका ज्ञान समाजमा बाँढ्न नगर प्रमुख खाँडको आग्रह छ ।
कार्यक्रममा रेविज रोगको नियन्त्रण कसरी गर्ने, रेविज लागेको कुकुरलाई कसरी चिन्ने, मानिसमा रेविज लागेमा देखिने लक्ष्यण लगायतका विषयमा सहजिकरण गरिएको थियो । यसका साथै नेपालमा वर्षेनी १ सयको हाराहारीमा रेविजका कारण मानिसको मृत्यु हुने गरेको तथ्याङ् अनुसार नेपाल उच्च जोखिममा रहेको जानकारी गराइएको थियो ।
यसैगरी पशु सेवा कार्यालय वालिङका प्रमुख डा.वसन्त अधिकारीले घर पालुवा कुकुर विरालोमा हुने रेविज रोग रोकथाम तथा नियन्त्रणमा रेविज सम्ताहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । डा. अधिकारीले कार्यक्रम मार्फत रेविज विरुद्ध जन चेतना फैलाउनु मुख्य रहेको जानकारी गराउनुभयो । उहाँले सप्ताहव्यापि निःशुल्क रेविज विरुद्धको खोप अभियानमा आ—आफ्ना घरमा पालिएका कुकुर बिरालाहरु ल्याई खोप लगाउनुहुन अनुरोध गर्नुभयो ।रेविज संक्रमणबाट बच्न पाल्तु जनावरलाई रेविज विरुद्धको खोप अनिवार्य रहेको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
विशेषगरी कुकुरहरुमा लाग्ने रेविज प्राणघातक रोग भएको र यो रोग मानिसमा पनि सर्न सक्ने हुनाले खोप लगाई सुरक्षित रहन डा. अधिकारीको आग्रह छ ।यस अवसरमा शुक्रबार विहान नगरपालिकाले प्रभातफेरि गरेको थियो ।आश्विन ६ गते विहिबारदेखि सुरु भएको रेविज सप्ताह कार्यक्रम १२ गते समापन गरिने छ ।