Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

  • PNN Times
  • शनिवार, कार्तिक १२ २०७९


  • कात्तिक १२, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

    राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ ।

    images

    क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो ।

    प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

    सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।

    उद्घाटन खेलमा कात्तिक १३ गते आइतबार समूह एमा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै कात्तिक १३ गतेनै समूह बी मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ ।

    यसअघि हरेक टिमलाई ६ खेल खेल्ने अवसर दिने र विजेता र उपविजेतासहित अन्य पोजिसन पनि छुट्याउने गरी खेल गराउने तयारी भएपनि समूह चरणपछि सेमिफाइनल र फाइनल खेल मात्र हुने भएको छ । कार्यवाहक सचिव मल्लले निर्वाचन नजिकँदै गरेको र अन्तर्राष्ट्रिय श्रृङ्खला पनि खेल्ने तयारी रहेको हुँदा समय अभाव भएकोले धेरै खेल गर्न सम्भव नहुने भएको जानकारी दिए ।

    ‘प्रधानमन्त्री कपलगत्तै अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने तयारी छ । त्यसपछि निर्वाचन छ । यू-१९ राष्ट्रिय प्रतियोगिता छ अनी नेपाल टी २० लिग पनि आउँछ । खेल बढ्दा दिन पनि बढ्ने भयो’ मल्लले भने ।

    सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको चार संस्करणमा ५० ओभरको फर्म्याटमा आयोजना भएको थियो । गत संस्करण भने आईसीसी टी-२० विश्वकप छनोटलाई मध्यनजर गर्दै टी२० फर्म्याटमा खेलाइएको थियो । गत संस्करणमा एपीएफले नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि जितेको थियो ।

    शनिवार, कार्तिक १२ २०७९०६:४६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend