वालिङ, २९ जेठ ।
स्याङ्जाको वालिङमा बिहिबारदेखि श्याम स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । वालिङ युवा क्लवद्वारा आयोजित ‘श्याम स्मृति फुटबल प्रतियोगिता–२०८३’ असार १ गतेसम्म चल्ने छ । वालिङ ८ का श्याम थापाको २०५१ असार २३ गते यहाँको खेलमैदानमा फुटबल खेलिरहेका बेला चट्याङ लागेर मृत्यु भएको थियो । उनैको सम्झनामा वालिङ युवा क्लवले फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।
स्वर्गीय थापाकी श्रीमती शान्ता थापाले पानसमा बत्ती बालेर र बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेकि हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै थापाले खेलकुदहरु मध्ये फुटबल एक महत्वपूर्ण र विश्वकै लोकप्रिय खेल भएको बताइन् । उनले फुटबल खेलको माध्यमबाट धेरै युवाहरुले आफ्नो व्यक्तित्व विकाससँगै राष्ट्रको लागि योगदान दिन सफल भएको उल्लेख गरिन् । वालिङ क्षेत्रबाट पनि दर्जनौं राष्ट्रिय खेलाडीहरु उत्पादन भएको व्यक्त गर्दै थापाले सहभागी प्रतियोगी टीमहरुलाई खेलको नियम, अनुशासन र मर्यादामा रहेर आफ्नो खेल प्रदर्शन गर्न आग्रह गरिन् । क्लवले श्याम स्मृति फुटबल प्रतियोगिता सञ्चालनमा ल्याएर आफ्नो श्रीमान प्रति सम्मान सहित श्रद्धाभाव प्रकट गरेकोमा आयोजक क्लवलाई धन्यवाद दिदै आभार व्यक्त गरिन् । साथै क्लव प्रति आफू र आफ्नो परिवारबाट सधैं साथ र सहयोग रहने थापाले बताइन् ।
२०५२ सालदेखि सञ्चालनमा ल्याइएको प्रतियोगिता २०५७ मा छैटौं पटक भएपछि हुन सकेको थिएन । उक्त श्याम स्मृति फुटबल प्रतियोगितालाई निरन्तरता दिने र स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको आयोजक वालिङ युवा क्लवका अध्यक्ष केशरबहादुर थापा (राजन) ले बताए । प्रतियोगिता सञ्चालनका लागि संस्थागत एवम् व्यक्तिगतरुपमा सहयोग पु¥याउनेहरु प्रति धन्यवाद दिदै अध्यक्ष थापाले क्लवको तर्फबाट आभार व्यक्त गरे ।
प्रतियोगिताका विजेताले नगद रु.१ लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेता हुने टीमले नगद रु.५० हजारको साथमाट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रथम पुरस्कार सौजन्य खिम गुरुङ माझकोट (हाल युके) ले गरेका छन् भने द्वितीय पुरस्कार सौजन्य स्वर्गीय श्याम थापाका पिता घने थापाले गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक एवम् संरक्षक वालिङ नगरपालिका रहेको छ ।
वालिङ खेलमैदानमा भएको श्याम स्मृति फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् ।
सहभागी टीमहरुमा वालिङ युवा क्वल, वालिङ (आयोजक क्लव), ट्रिनिटी युवा क्लव वालिङ, होराइजन युवा क्लव वालिङ–भुम्रे, स्पन्दन युवा क्लव वालिङ–भकुण्डे,नवप्रभात युवा क्लव, विपीचोक–वालिङ, रामबाच्छा युवा क्लव रामबाच्छा–वालिङ, मर्दिखोला युनाइटेड क्लव–पर्वत, स्याङ्जा युथ क्लव–स्याङ्जा, समाज सुधार युवा क्लव–चापाकोट र न्यू युनाइटेड क्लव– पाल्पा रहेका छन् ।
श्याम स्मृति फुटबल प्रतियोगितामा ट्रिनिटीद्वारा सानदार जीतको सुरुवात
वालिङमा बिहिबारदेखि सुरु श्याम स्मृति फुटबल प्रतियोगितामा दुई खेल भएका छन् । पहिलो खेल ट्रिनिटी युवा क्लव वालिङ र समाज सुधार युवा क्लव चापाकोट बीच भएको थियो । पहिलो खेलमा ट्रिनिटी युवा क्लव वालिङले सामाज सुधार युवा क्लव चापाकोटलाई १ का विरुद्ध ७ गोलगर्दै सानदार जीत निकालेको छ । उद्घाटन खेलमा चापाकोटमाथिको जीतसँगै वालिङका अजिज मियाँले लगातार तीन गोल सहित ह्याट्रिक गरेका छन् । चापाकोटले सान्त्वना १ गोलमा चित्त बुझाएको छ ।
यसैगरी दोस्रो खेल स्पन्दन युवा क्लव भकुण्डे र नवप्रभात युवा क्लव विपीचोक बीच भएको भएको थियो । स्पन्दन युवा क्लव भकुण्डेले नवप्रभात युवा क्लव विपीचोकलाई २ का विरुद्ध ४ गोलको जीत निकाल्दै स्पन्दनले पनि मजवुत टीमको सङ्केत गरेको छ ।
यसैगरी २९ गते पनि विहान र दिउसो गरी दुई खेल हुनेछन् । विहान १० बजे होराइन युथ क्लव भुम्रे र रामबाच्छा युवा क्लव बीच पहिलो खेल हुनेछ भने दिउसो ३ बजे आयोजक क्लव वालिङ र मर्दिखोला पर्वतबीचको खेल हुने आयोजकले जनाएको छ ।