पौष ६,वालिङ ।पहाडी क्षेत्रमा रहेर करोडमाथिको कारोवार गर्ने कमै किसान हुन सक्छन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका फणि नारायण अर्यालले वार्षिक साढे दुई करोडको हाराहारीमा सुन्तलाको कारोवार गर्नुहुन्छ । अर्जुनचौपारी १, थापाथोकमा त्रिपुत्र वागवानी फार्म सञ्चालन गर्दै आउनुभएका अर्यालले वार्षिक साढे दुई करोडको हाराहारीमा सुन्तला विक्रि गर्नुहुन्छ । पहाडी क्षेत्र छोडेर सहर बजार तथा मधेश लाग्नेहरुका लागि अर्यालको कर्मले चुनौति दिएको छ ।
८० रोपनी आफ्नै पाखोबारीमा सुन्तला लगाउनुभएको छ अर्यालले । उहाँले पालिकामा रहेका अधिकांश किसानहरुका सुन्तलासमेत खरिद गर्नुहुन्छ । यसका साथै पर्वत जिल्लाका उत्पादनसमेत अर्यालको वागवानीमा आउने गरेको छ । यसरी आफ्नो मात्र नभएर अरुको समेत गर्दा वर्षमा साढे दुई करोडभन्दा धेरैको कारोवार हुने गरेको अर्याल बताउनुहुन्छ ।उ बेलामा पनि दुइ चार लाख जोहो गरेर अन्य व्यापार व्यावसाय गर्न पनि सक्नुहुन्थ्यो । आप्mनो माटोमा सुन्तलाले राम्रो उत्पादन दिने भएपछि अर्याललाई अरु पेशा खोज्नु परेन । माटोलाई चिन्नसक्दा सुन्तला खेतिले उहाँलाई जिल्लाकै एक सफल किसानको पहिचान दिएको छ ।
सुन्तलाको सिजनमा उहाँको फार्ममा ३० देखि ३५ जनाले रोजगारी पाउने गर्दछन् । अर्यालले त्रिपुत्र वागवानी फार्ममा सुन्तला ग्रेडिङ मेशिनसमेत राख्नुभएको छ । यो नेपालमै पहिलो हो । करिव ४० लाख मूल्यको ग्रेडिङ मेशिन पाँचवर्ष अगाडिदेखि सञ्चालनमा ल्याउनुभएको हो ।सार्क विकास कोषको सहयोगमा पोष्ट हार्वेष्ट व्यवस्थापन निर्देशनालयबाट ग्रेडिङ मेशिनका लागि ८५ प्रतिशत अनुदान प्राप्त हुने पाँचवर्ष अगाडि सम्झौता भएको छ । अनुदान पाउने भएपछि अर्याललाई हौसला थपियो ।टिपेका सुन्तला सानो ठूलो मध्यम छुट्याएर ग्रेडिङ गरिदिने भएपछि धेरै सजिलो छ ।तर आजसम्म पनि दिने भनिएको अनुदान प्राप्त गर्न नसक्दा दुःख लागेको छ । कहिले कम्पनीमै समस्या देखाइन्छ त कहिले कर्मचारी सरुवा हुन्छन् । कागज पत्र अगाडि बढाएको ५ वर्ष वितिसक्दासम्म पनि अनुदान मिलेको छैन । अनुदानको प्रक्रियामा हिड्दा पाँच लाखभन्दा धेरै खर्च भैसकेको अर्यालको दुखेसो छ ।
६५ प्रतिशत किसान भएको देशमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्नु विडम्वना नै भन्नुपर्छ । कृषि व्यावसायीकरणका लागि जोड दिने भनिए पनि नीति गतिलो बन्न नसक्दा आँफूजस्ता धेरै किसानहरु मर्कामा परेका उहाँको भनाई छ ।उहाँले देशका मुख्य सहरसम्म सुन्तला पठाउने गर्नुहुन्छ । नेपालका पूर्वदेखि पश्चिमसम्मका कतिपय व्यापारीहरु यहाँ आउने गर्दछन् ।
यहाँका सुन्तला जापान, कोरिया, अमेरिका लगायतका देशसम्म पुग्ने गरेको अर्याल बताउनु हुन्छ ।