पौष १२,वालिङ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पाठेघरको क्यान्सर जाँच सम्बन्धी निःशूल्क शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ३० वर्षदेखि ६० वर्ष सम्मको महिलाहरुको लागि लक्षित गर्दै शिविर सञ्चालन गर्न लागेको हो । ग्रामिण क्षेत्रका महिलाहरुले शारिरीक रुपमा गह«ौँ कामहरु गर्नुपर्ने भएकाले पाठेघरमा समस्या आउने हुँदा पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार शिविर यही पौष १३ गते कालीगण्डकी अस्पताल ,मिर्मीमा सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने शिविरमा कालीगण्डकी गाउँपालिका भित्रका ३० वर्षदेखि ६० वर्ष सम्मका महिलाहरुले जाँच गराउन सक्नेछन् । बिरामीहरुको सहजताको लागि कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी बुद्धिसरा भण्डारीको मोबाइल नम्बर ९८४६५४९७०२ र कालीगण्डकी अस्पतालका प्रमुखको मोबाइल नम्बर ९८४९०९४८४७ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।