Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हेल्लो वालिङ !

हेल्लो वालिङ !

  • मोहन सुनार
  • मंगलवार, पौष १९ २०७९


  • हेल्लो वालिङ !

    पौष १९,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरुलाई व्यवस्थित रुपमा सुनुवाई गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । 
    नागरिकका वैयक्तिक,पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
    नगरपालिकाभित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले भन्नुभयो–‘सबै जनप्रतिनिधिहरु नागरिकमाझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ,नागरिकका गुनासाहरु धेरै हुनसक्छन् ,ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।’नगरका गतिविधिहरु नागरिकमाझ पुर्याउन नगरपालिकाले प्रविधिको बढीमात्रामा प्रयोग गरेको उल्लेख गर्दै नगरप्रमुख खाँणले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताउनुभयो ।नगरपालिकाले सुशासन कायम गर्न कल सेन्टरको स्थापना गर्न लागेको नगर उपप्रमुख कविता तिवारी गैर्हेले बताउनुभयो ।समयको मागअनुरुप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने गैर्हेको विश्वास छ ।
    नागरिकका गुनासा व्यवस्थापन गर्न स्थापना गर्न लागिएको कल सेन्टर व्यवस्थापन अधिमुखीकरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले स्मार्ट वालिङ निर्माणको क्रममा तय गरिएका सुचकहरुमध्ये गुनासो व्यवस्थापन पनि एक भएकोले कल सेन्टरको स्थापना आवश्यक भएको बताउनुभयो । 
    कल सेन्टरमा फोन गर्दा कुनै शूल्क नलाग्ने जानकारी दिँदै अधिकृत भट्टराईले डेस्कमा आएका गुनासाहरुलाई सम्बन्धित निकाय तथा शाखा प्रमुखहरुले सुनुवाई गर्ने स्पष्ट पार्नुभयो ।  

    मंगलवार, पौष १९ २०७९०३:४९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend