पौष २४,वालिङ । स्याङ्जाका युवा कृषक मीनप्रसाद कोइरालाले सुन्तलाखेति सजिलो र फाइदाजनक हुने बताउनुभएको छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर ७ लोलुङ्गाका युवा कृषक कोइरालाले सुन्तलाखेति अरु खेतिको तुलनामा सजिलो र फाइदाजनक हुने बताउनुभएको हो ।
सुन्तला फलाएर वार्षिक लाखौं कमाउदै आउनुभएका कोइराला समाजसेवामासमेत क्रियाशील हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“मंसिरदेखि फागुनको १५ सम्म यो सुन्तलाबारीलाई समय दिनुपर्छ र दिन्छु । त्यसपछि अन्य काम गरे हुन्छ, किनकि अरु बालीलाई जस्तो सुन्तलालाई समय दिइरहनुपर्दैन, सजिलो छ । ७५ प्रतिशत घरको कामलाई दिएर बाँकि समय सामाजिक क्षेत्रमा लगाउँछु । त्यसैले यी सुन्तला यसरी पहेँलपुर पाकिरहेको छ, फलिरहेको छ । सुन्तला सुन हो ।”
उहाँ भन्नुहुन्छ—“२०३३ सालमा ठूलो बुवा तेजप्रसाद कोइरालाले सुन्तलाको बगैचा बनाउनु भएको थियो । त्यतिबेला हाम्रो यो बारीमा कोदो मकै लगाइन्थ्यो । लाखुले खाइदिन्थ्यो । सानो छँदा नै उहाँले पैसा पारेको देखियो । जब उहाँलाई पैसा आउन थाल्यो, त्यसपछि मेरो बुवा लगायत सिङ्गो गाउँबासीले नै सुन्तला लगाउन थालेको हो । क्रमशः सिङ्गो लोलुङ्गा गाउँ अहिलेसुन्तलामय भएको छ ।”सुन्तलासँगै कृषि पेशामा लाग्न तत्कालिन समयमा जिल्ला कृषिका वीरेन्द्रबहादुर हमाल र मुरलीधर मिश्रसँग जोडिएर सिक्ने अवसर मिलेको कोइराला बताउनुहुन्छ । विगत १३ वर्षदेखि नेपाल कृषि उद्यमका नाममा सुन्तलाकोखेति गर्दै आएको उहाँले बताउनुभयो ।
यो भन्दा पहिला काउली बन्दालगायतका तरकारीबाली लगाउथे । अहिले यो बगैचाभित्र अदुवा, बेसार लगायतका बाली पनि लगाउँछु, जसले गर्दा सुन्तलाका लागि मलजलमा सहयोग पुग्छ भने थप उत्पादन पनि लिदै आएको छु, कोइरालाले भन्नुभयो ।उहाँले भन्नुहुन्छ—“अघिल्लो वर्षसम्म परिवार सँगै थियौं, अहिले मेरो ४ वटा बगैचाको प्रतिकिलो रु.७० मा बिक्रि गर्दा १६ लाखमा पारेको छु । बुवाको बगैचाको १३ लाख परेको छ । मैले ४ लाख खर्च गरेर पनि १२ लाख बचत हुन्छ । ” कतिपय किसानहरुबाट राम्रो भाउ पाइएन भन्ने गुनासो गरेको सुनिन्छ, यो भनाई मलाई ठीक लाग्दैन । त्यो जग्गामा कोेदो मकै अथवा अन्य बाली लगाएर कति उत्पादन हुन्थ्यो त भनेर सोंच्नुपर्ने कोइरालाको भनाई छ ।
धेरै पार्नसके राम्रो हो तर रु. ५० कै दरमा विक्रि भएपनि नाफा नै हुन्छ भने चिन्ता लिनुपर्छ जस्तो लाग्दैन । बोट ठूलो हुनै बाँकि छँदा यति पारेको छु भने मैले अहिलेकै भाउमा बेचेपनि अबको ५ वर्षमा यो बगैचाबाट रु.३० लाखको विक्रि गर्न सक्छु भन्ने मार्गचित्र तय गरेको कोइराला बताउनुहुन्छ ।नेताले गरेनन्, सरकारले दिएन, भनेर अरुलाई आरोप र गाली गर्नुभन्दा पहिला आँफ्नो खुट्टामा उभिन प¥यो । मैले सुन्तला फलाएँ त अरु ठाउँमा अरु बाली फल्ला । हरेक माटोले केही न केहि त दिन्छ । माटो र हावापानी अनुसारको बाली लगाउन सकिन्छ । मरुभूमि त छैन नेपालमा । मेरो बगैचाको चारैतिर जङ्गल छ, मैले मौरी पनि जोडेको छु उहाँले थप्नुभयो ।
अब नयाँ प्रविधिमा जानुपर्छ भन्ने कोइरालाको सोंच छ । किसानहरु पनि नयाँ ढँगमा जाने र सम्बन्धित निकायले पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने कोइरालाको धारणा छ ।
यहाँ बसेर कृषि काम गर्नेलाई गोठालो भन्ने चलन छ । धेरै परिवारमा यहाँ बसेर केही हुुँदैन विदेश नै जानुपर्छ भन्ने मनोवृत्ति हावी छ । बालबच्चा हुर्केपछि पैसा कमाउन बाहिरै जानुपर्छ, विदेश नै जानुपर्छ भन्ने संस्कारको विकास भएको कोइरालाको भनाई छ ।
लोलुङ्गामा रहेको कृषि उपज सँकलन केन्द्रमा अब जुुस जाम जेली र वाइन बनाउने तालीम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कोरियाले जाँड बनाएर नेपालमा ल्याएर विक्रि गर्छ भने टिप्दा झरेर फुटेका सुन्तलाबाट जाम तथा वाइन बनाएर किसानले विक्रि गर्न चाहन्छन् भने त्यो राज्यले व्यवस्था गरोस भन्ने चाहेको उहाँको भनाई छ ।
कोइराला भन्नुहुन्छ—“विद्यालयले उत्पादनसँग जोडिने शिक्षा दिनुप¥यो, कुन कुन क्षेत्रका विद्यार्थी आएका छन्, त्यहाँको माटोले के दिन्छ भन्ने त्यो प्रकारको शिक्षा दिनुपर्छ ।”
पशु बीमाको व्यवस्था भएपनि सुन्तलाको बीमा गर्ने सुविधा नभएको उहाँको गुनासो छ । राज्यले बीमा गर्नुुपर्छ भन्छ, तर बीमा कम्पनीहरुले मान्दैनन् । कतिपय अवस्थामा कर्जा लिनका लागि कृषि बीमा नभइ हुँदैन । त्यस्तो अवस्थामा केही भैहाले छ भनेपनि मागदावी गर्दिन, भनेर समझदारीमा बीमा गरिएको छ । यसरी नीतिगत समस्याले किसानहरु मर्कामा परेको कोइरालाको भनाई छ ।