माघ १,वालिङ । मृगौला बिरामीहरुको सहारा बनेको वालिङ सामुदायिक डायलासिस सेन्टरको पहिलो वार्षिकोत्सव मनाइएको छ । २०७८ माघ १ गते स्थापना भएको डायलासिस सेन्टरको पहिलो वार्षिकोत्सव मनाइएको हो । रोटरी क्लव वालिङको व्यवस्थापन तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको सहयोगमा सञ्चालित वालिङ सामुदायिक डायलासिस सेन्टरले स्याङ्जा,पाल्पा,पर्वत लगायत जिल्लाका बिरामीहरुलाई सेवा दिइरहेको छ ।
प्रथम वार्षिकोत्सव समारोहमा वालिङ नगरपालिका वडा नं. ९ का अध्यक्ष शेर बहादुर श्रेष्ठ ‘अमृत’ले रोटरी क्लवको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले आर्थिक स्थिति कमजोर रहेको मृगौला पिडितहरुको लागि वालिङमा डायलासिस सेन्टर स्थापना गरेर रोटरी क्लवले धार्मिक पुण्यको काम गरेको उल्लेख गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा रोटरी क्लव वालिङका अध्यक्ष सीता पाण्डेय डुम्रेले आर्थिक विपन्नता भएका मृगौला रोगीहरुको लागि वालिङमा डायलासिस सेन्टर स्थापना गर्न ठुलो संघर्ष गर्नुपरेको स्मरण गर्दै डायलासिस सेन्टरलाई अहिलेको अवस्थामा ल्याउन सहयोग पुर्याउने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अझैपनि डायलासिस गराइरहेको बिरामीहरुको लागि स्वास्थ्य बीमाको सहजीकरण, ब्लड बैँङ्कको स्थापना, एम्बुलेन्सको उपलब्धता लगायतका विषयमा रोटरी क्लवले काम गरिरहेको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो–‘हामीले स्थानीय,प्रदेश र केन्द्र सरकारसँको सहयोगमा वालिङ सामुदायिक डायलासिस सेन्टरको स्तरोन्नतीको लागि आवश्यक छलफल र पहल गरिरहेको छौँ । यसबारेमा सकेसम्म छिटो नै काम सम्पन्न गर्छौँ ।’

वालिङ डायलासिस सेन्टरमा हाल ४७ जना मृगौला पिडितहरुले निःशूल्क सेवा लिइरहेको सेन्टर प्रमुख अर्जुन तिवारीले जानकारी दिनुभयो ।सन् २०१६ मा वालिङमा स्थापना भएको रोटरी क्लव अफ वालिङले विद्यालयहरुमा किशोरी मैत्री वातावरणमा शैक्षिक क्रियाकलापमा सहयोग,वातावरणीय संरक्षणको लागि वृक्षारोपण कार्यक्रम, लैङ्गिक समानताको कार्यक्रमहरु गर्दै आएको छ ।
त्यस्तै फरक क्षमता भएकाहरुको लागि ह्विलचेअर प्रदान, रक्तदान ,विभिन्न समयमा स्वास्थ्य शिविरहरु सञ्चालन, घरेलु हिंसा तथा लागू पदार्थ दुव्र्यसनी विरुद्धका कार्यक्रम लगायतका कामहरु गर्दै आइरहेको छ ।