वालिङ ।स्याङ्जाको वालिङमा सञ्चालित पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । गत पौष ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कपको फाइनल खेल शनिबार सम्पन्न भएको हो । वालिङ युनाइटेड क्लवले प्रतियोगिता आयोजना गरेको हो ।
जिल्लामै पहिलो ठूलो धनराशीसहितको पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधी आयोजक निलोले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा आयोजक निलोले पाहुना टीम एभिनिर फुटवल क्लव क्यामरुनलाई तीनका का विरुद्ध चार गोल गर्दै उपाधी जितेको हो । उपाधी जीतका लागि दुवै टीम कडा प्रतिस्पर्धाका साथ खेलेका थिए ।
निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइबेकरमा आयोजक निलोका क्याप्टेन लक्ष्मण रुचालको प्रहार बाहिरिए पनि स्ट्राइकर सुवास गुरुङ, विश्वास श्रेष्ठ, टीकराज गुरुङ र विशु थापाले गोल गर्न सफल हुँदा उपाधी जित्नका लागि पर्याप्त भयो । यसैगरी एभिनिरका लागि एमबोमी जीन, एनगुइम्स स्टेफने र विले फ्राङ्क गोल गर्न सफल भए । गुइनी म्यारी डेनिल र एव्डव रमानीको प्रहारलाई आयोजक निलोका गोलकिपर राजाबाबुले गोल हुनबाट कुशलापूर्वक बचाए ।
जीतसँगै आयोजक निलोले रु ५ लाख र उपविजेता बनेको एभिनिर फुटवल क्लव क्यामरुनले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
फाइनल खेलको पुरस्कार वितरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँडले खेलले मनोरञ्जनका साथै मुलुकका लागि सक्षम र दक्ष नागरिक उत्पादनमा भूमिका खेल्ने बताउनुभयो । नगर प्रमुख खाँडले यो प्रतियोगिताले फुटवल खेलमात्र नभैकन अन्य खेलको सम्भावनालाई उजागर गरेको उल्लेख गर्नुभयो । उहाँले वालिङ नगरपालिकाले करिव ८५ लाख खर्च गरेर खेलमैदानको स्तरोन्नति गरेसँगै गत आश्विन २८ देखि कार्तिक ३ गतेसम्म राष्ट्रिय महिला फुटवल प्रतियोगिता सम्पन्न गर्न सफल भएको स्मरण गर्नुभयो ।
पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितामा दर्शकहरुको उत्साहजनक उपस्थितिले नगरपालिकालाई दवाव दिएको महसुस गराएको नगर प्रमुख खाँडले बताउनुभयो । उहाँले विभिन्न संघ संस्था र व्यक्तिहरुको जग्गालाई अस्थायीरुपमा समेटेर खेलमैदानको स्तरोन्नति गरेको उल्लेख गर्दै आगामी ५वर्षसम्म वालिङ खेलमैदानलाई रङ्गशालाकोरुपमा विकास गरिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रतियोगितामा विभिन्न विधामा सहभागी टीम तथा खेलाडीहरुसमेत पुरस्कृत भएका छन् । खेलअवधिभरको लिस्नु फुटवल क्लब रुपन्देही अनुशासित टिमबाट पुरस्कृत भयो । यसैगरी खेल अवधिभरको उत्कृष्ट खेलाडी आयोजक निलोका विश्वास श्रेष्ठ र सर्वाधिक गोलकर्ता अफ्रिकन खेलाडी टिम्बा टिम्बा बने । नवप्रतिभा युवा खेलाडी आयोजक रातोका रुपेश हमाल, उत्कृष्ट डिफेन्डर आयोजककै आशिष गुरुङ र उत्कृष्ट मिड फिल्डकर कमल थापा घोषित भए । उत्कृष्ट कोच दिलिप थापा र फरवार्डमा टिकाराज गुरुङ पुरस्कृत भए । त्यस्तै फाईनल खेलको उत्कृष्ट खेलाडी आयोजक निलोका गोलकिपर राजाबाबु थापा घोषित भए ।
पहिलो वालिङ गोल्ड कपमा आयोजकबाट दुईसहित ८ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभागीय क्लव नेपाल आर्मी, एपि एफ क्लव काठमाडौं, लिस्नु फुटवल क्लव कोटिहवा रुपन्देही, साहरा फुटवल क्लव पोखरा, एभिनिर फुटवल क्लव क्यामरुन र भरतपुर फुटवल क्लव चितवन तथा आयोजक निलो र रातो गरी ८ टीम सहभागी भएका हुन् । Teacher