माघ ९,वालिङ ।स्याङ्जाको वालिङमा भू—उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा भू—उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम सोमबार गरिएको हो । कार्यक्रममा आत्मनिर्भर सामुदायिक सेवाकेन्द्र काठमाडौका भूमिविज्ञ गोपाल गिरी र जगत देउजाले सहजीकरण गरेका थिए ।कार्यक्रममा वालिङ नगर उप प्रमुख कविता तिवारी गैह्रेले पालिकाका १४ वटै वडामा जग्गा वर्गीकरण सम्बन्धी खाका तयार पारिएको जानकारी गराउनुभयो । उहाँले जग्गाको वर्गीकरणका लागि राज्यको नीति अनुरुप अमिनको सहायता लिएर खाका तयार पारिएको बताउनुभयो ।
अभिमुखी कार्यक्रममा गण्डकी प्रदेश सांसद भोजराज अर्यालले भू—उपयोग सम्बन्धी जग्गाको वर्गीकरणको प्रकृया अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । प्रदेश सभासद अर्यालले राज्यको नीति अनुसार वर्गीकरण कार्यमा पहाडी भूगोलमा जटिल भएकाले वडा अध्यक्षहरुले जिम्मेवार भएर लाग्न सुझाव दिनुभयो । जग्गा वर्गीकरणले सुरुका बेला केही अफ्ठ्यारो लागे पनि आवस्यक ठानेर गर्न लागिएको हो । यसमा नागरिकका बस्तीहरुमै समस्या आउनेगरी गर्न नहुने उहाँको भनाई छ ।
यसैगरी गण्डकी प्रदेश सभासद सरस्वती अर्याल तिवारी, कल्पना तिवारी तथा प्रदेशका पूर्व सांसद मोहन रेग्मीले जग्गा वर्गीकरण प्रकृया देशैभरी जटील बनेको उल्लेख गर्दै सबैलाई मिलाएर प्रभावकारी योजना बनाएर लाग्न आग्रह गरेका थिए ।वालिङस्थित विभिन्न कार्यालय प्रमुख, पार्टी प्रतिनिधिहरु तथा वडा अध्यक्षहरुको उपस्थितिमा भू—उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।