चैत्र २४,वालिङ । विकासको पहिलो आधार बाटोघाटो हो । बाटोघाटोको सुविधा नभएका ठाउँमा कुनै पनि काम गर्न सकिदैन । त्यसैले स्थानीय पालिकाहरु प्रत्येक वडासम्म सडक सञ्जालको विकासमा जुटेका देखिन्छन् । यसैबीच स्याङ्जाको चापाकोट नगरपालिका अहिले सडक सञ्जाल विस्तारसँगै कालोपत्रेका लागि जुटेको छ ।
समग्र पालिकामा यातायात सुविधाको आवस्यकतालाई मध्यनजर गर्दै चापाकोट नगरपालिका सडक कालोपत्रेका लागि जुटेको नगर प्रमुख देवबहादुर खाँड ( इश्वर ) ले जानकारी दिनुभयो । चापाकोट नगरपालिकाका वडाहरुमा ग्रामिण सडक पुगेपनि वर्षाको समयमा बाटोको समस्या पर्दछ । त्यसैले पालिका कार्यालयसँग जोडिने सडक कालोपत्रेको तयारीमा लागेको नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो । नगर प्रमुख खाँडका अनुसार सडक कालेपत्रेका लागि ८० प्रतिशत सम्झौता भैसकेको छ । यसका लागि प्रदेश र संघीय सरकारसँगको समन्वयमा सम्झौता भएको हो ।दोस्रो प्राथमिकतामा कृषि र स्वास्थ्यलाई पारिएको छ । चापाकोट नगरपालिका जिल्लाका ११ वटा पालिका मध्ये सबैभन्दा धेरै समथर र कृषियोग्य फाँट भएको पालिका हो । यहाँको उर्वराशक्तिलाई उपयोग गर्ने हो भने समग्र जिल्लालाई नै खान पुग्ने उत्पादन गर्न सकिन्छ । परम्परागत कृषिले यो सम्भव छैन । नयाँ प्रविधियुक्त खेति प्रणालीमा लाग्नसके राम्रो उत्पादन लिन सकिन्छ । त्यसैले कृषियोग्य भूमि र आवस्यकतालाई मध्यनजर गर्दै चापाकोटमा कृषि क्याम्पस सञ्चालनमा ल्याइएको छ ।
सरकारले प्रत्येक पालिकामा स्थापना गर्ने नीति अनुसार यो प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको हो । सिटिइभिटीको देशभरका ६३ वटा आंगिक शिक्षालय मध्ये किसान प्राविधिक शिक्षालय पनि एक हो । यहाँ ३ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।क्याम्पसका लागि आवस्यक १ सय १० रोपनी जग्गा नगरपालिकाको पहल र व्यक्तिहरुबाट उपलव्ध गराइएको छ । योसँगै व्यावसायिक कृषकहरुलाई आवस्यक तालीम, प्राविधिक उपलव्धता र बीउ विजन प्रदान गरी कृषि प्रवद्र्धनमा नगरपालिका लागेको नगर प्रमुख खाँडले जानकारी गराउनुभयो ।
यसैगरी स्वास्थ्य सेवा अर्को महत्वपूर्ण कुरा हो । सामान्य उपचारका लागि टाढा धाउन नपरोस र स्वास्थ्यको सहज पहुँचहोस् भनी नगरपालिकाका १० वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् । यसैबीच चापाकोट अस्पतालमा दन्त विभाग स्थापना गरिएको छ । नगरपालिकाको पहल र रोटरी क्लव अफ काठमाडौं नर्थ डिस्टक्ट ३२९२, रोटरी क्लव अफ उकु जिमजोङ, न्यू ताइपे ताइवान डिस्टिक्ट ३४९०, कान्तिपुर कलेज शिक्षण अस्पताल र कान्तिपुर डेण्टल अस्पतालका १९ लाख ३१ हजार बराबारको उपकरण सहयोगमा दन्तसेवा विभाग स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको छ । योसँगै शैक्षिक गुणस्तर वृद्धि गर्ने र अबको ५ वर्षसम्म चापाकोटलाई नयाँ गतिमा लैजाने योजना बनाएको नगर प्रमुख खाँडले व्यक्त गर्नुभयो ।