चैत्र २७,वालिङ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीले अहिलेको शिक्षा प्रणालीमा व्यापक परिवर्तन आवस्यक रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङस्थित नेपाल आदर्श माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा सम्वोधन गर्दै पूर्व प्रधानन्यायाधिस रेग्मीले शिक्षा प्रणालीमा व्यापक परिवर्तन नगरीकन सिर्जनशिलताको विकास नहुँने बताउनुभयो । सम्बन्धित विषयमा विज्ञता पार गरिएका शिक्षाले बहुआयामिक उपलब्धी हाँसिल गर्न सक्नुपर्ने भन्दै शिक्षामा परिवर्तन आवश्यक रहेको औंल्याउनुभयो ।
वर्तमान परिप्रेक्ष्यमा रोजगारी होस या अध्यायनका लागि होस युवाहरुको वैदेशिक मोह बढ्दै गएकाले नेपालको शैक्षिक प्रक्रिया परिवर्तन गर्न आवश्यक रहेको रेग्मीको भनाई छ । हाम्रा संस्कार, नीति, नियमहरुबाट हामी यहाँसम्म आईपुगेको भन्दै यस्ता संस्कारहरु शैक्षिक प्रणालीमा समावेश हुनुपर्ने उहाँले बताउनुभयो । शिक्षाले मानिसको विवेकशीलतालाई बढाउने भन्दै नैतिक शिक्षालाई पनि अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो ।
पछिल्लो समय सामुदायिक विद्यालय क्याम्पसहरुमा राजनीतिक तत्वले प्रभाव पारिरहेको भन्दै शिक्षा सर्टिफिकेटका लागि मात्रै भएको छ । यस्तो शैक्षिक प्रणालीले राम्रो फल दिन नसक्ने रेग्मीले बताउनुभयो । बढ्दो आधुनिक प्रविधिले विद्यार्थी र अभिभावकबीचमा दूरी बढाएको भन्दै प्रविधिको सहि सदुपयोग गर्नका लागि अभिप्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।