जेष्ठ १३,पैयूँ ।
पर्वतको पैयूँ गाउँपालिकामा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरसँगै हुवास स्वास्थ्य चौकीलाई पैयूँ आधारभूत अस्पतालमा परिणत गरिएको छ । गाउँपालिकाको वडा नं.४ मा रहेको हुवास स्वास्थ्य चौकी(पैयूँ आधारभूत अस्पताल)को प्राङ्गणमा सम्पन्न भएको शिविरमा गाउँपालिकाका विभिन्न स्थानहरुका स्वास्थ्य लाभ लिएको गाउँपालिकाले जनाएको छ ।शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मित्रलाल बस्यालले पर्वतको विकट मानिने दक्षिण पर्वतको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले पैयूँलाई स्वास्थ्य,शिक्षा र रोजगारका क्षेत्रमा अब्बल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘हामीले पैयूँलाई समृद्ध बनाउन स्थानीय,प्रदेश र केन्द्र सरकारको योजना पैयूँमा केन्द्रित बनाएर हामी काम गर्नेछौँ । समृद्ध पैयूँ बनाउने नागरिकले दिएको अभिभारा हामीले पूरा गर्नेछौँ ।’
सांसद बस्यालले नागरिकको समृद्धिको लागि प्रदेशले बनाउने योजनाहरुमा दक्षिण पर्वत प्राथमिकतामा पर्ने स्पष्ट पार्नुभयो ।अस्पतालको सेवा शुभारम्भ गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल(ठकुरी)ले नागरिकले सुलभ र सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितताको लागि गाउँपालिका सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले ग्रामिण क्षेत्रमा दक्ष जनशक्ति टिक्न नसक्ने समस्या रहेकोमा दुख व्यक्त गर्दै पैयूँ अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर सहितको सेवा प्रवाहको लागि पालिकाले सुरुवात गरेको जानकारी दिनुभयो ।अध्यक्ष मल्लले पालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकताका साथ बजेटको व्यवस्था गरी नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन पालिकाको सिँगो टिम नै प्रतिवद्ध रहेको बताउनुभयो ।
पैयूँ गाउँपालिकाको आयोजना वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल,चितवन, मौलाकालिका अस्पताल चितवन, स्वास्थ्य कार्यालय,पर्वत, जिल्ला आयुर्वेद कार्यालय पर्वत,हिमालय आँखा अस्पताल पोखरा र रोटरी क्लव अफ नारायणी मिड टाउनको सहयोग तथा समन्वयमा सञ्चालन गरिएको शिविरमा ३ हजार भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा पेट,छाती तथा मुटु सम्बन्धी ३ सय ५५ जना,दाँत सम्बन्धी ४ सय ३८ जना,हाडजोर्नी तथा नशा रोग सम्बन्धी ५ सय जना, बालरोग सम्बन्धी ७४ जनाले सेवा लिएको पैयूँ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै आँखा सम्बन्धी ३ सय २ जना, स्त्रीरोग सम्बन्धी २ सय ११ जना नाक,कान,घाँटी सम्बन्धी १ सय ७५ जना , .छालारोग सम्बन्धी १ सय ६१ जना र आयुर्वेद सम्बन्धी ४ सय २७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ४५ जनाले एक्स रे सेवा, ५० जनाले ल्याव सेवा तथा ४ सय २० जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।