Logo

शनिवार, कार्तिक १ गते २०८३

images

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

  • PNN Times
  • बुधवार, जेठ १७ २०८०


  • १७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् ।

    विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

    images

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख छन् ।

    मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यही जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको मेयर शाहको भनाइ छ ।

    मेयर शाहले सामाजिक सन्जालमा लेखेका छन्, ‘माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छौं । यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’ मन्त्रीलाई कारबाही गर्न भनिएका कुन–कुन स्वास्थ्य संस्था हुन् भन्ने चाहिँ मेयर शाहले सार्वजनिक गरेका छैनन् ।

    नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने भन्दै उनले सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको स्मरण समेत गराएका छन् । 

    बुधवार, जेठ १७ २०८०११:०२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend