पैयूँको सरौंखोलामा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ६ सरौंखोलामा सरौंखोला स्वास्थ्य चौकी भवनको उद्घाटन गण्डकी प्रदेश सदस्य मित्रलाल बस्यालले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सासंद बस्यालले स्वास्थ्य क्षेत्रमा पैयूँवासीको अपेक्षा अनुसारको काम गर्नु पर्ने जिम्मेवारी थपिएको बताउनु भयो । यस भन्दा अगाडी स्वास्थ्य क्षेत्र सुधारका लागि जति पहल गरे पनि सोचे अनुरूप नभएको भन्दै सांसद बस्यालले अब आफुहरुले देखिने गरि ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गर्ने उद्घोष गर्नु भयो ।
कार्यक्रमा बोल्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको बताउनु भयो ।
सामान्य बिरामी पर्दासमेत वडाका स्थानीयहरू उपचारका लागि कठिनाइ भोग्दै आए पनि भवन निर्माण पछि अहिले स्वास्थ्य सेवा सहज भएको वडा नम्बर ६ का वडा अध्यक्ष गंगा अधिकारीले जानकारी दिनुभयो । वडाध्यक्ष गंगा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निमार्णका जग्गादान गर्ने जग्गादाताहरुलाई दोसल्ला ओढाएर र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी राना, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतले मन्तव्य राख्नुु भएको थियो भने कार्यक्रमको संचालन वडा नम्बर ६ का वडा सचिव पारस सापकोटाले गर्नु भएको थियो ।