असार १७ ,पर्वत ।
पर्वतको पैयूँ गाउँपालिका वडा नं. ६ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आइतबार विनु माध्यमिक विद्यालयको सभाहलमा आ.व.२०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं.६ ले चालु आ.व.को अवधिमा प्रदान गरेका सेवा तथा नीति,योजनाहरुको विषयमा वडा नं.६ का अध्यक्ष गंगाधर अधिकारीले प्रकाश पार्नुभएको थियो ।
चालु आ.व.मा गाउँपालिकाबाट उपलब्ध कुल ६५ लाख बजेटबाट पूर्वाधार विकास, खानेपानी,सडक मर्मत तथा सामाजिक विकास लगायतका कार्यक्रमहरु गरी ५२ वटा योजनाहरु निर्माण गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभएको थियो ।चालु आ.व.मा सामाजिक विकास तथा सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिँदै अध्यक्ष अधिकारीले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास,सामाजिक सचेतना तथा नागरिकका माग र आवश्यकतालाई मध्यनजर गरेर ठोस योजना बनाइने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले समृद्ध पैयूँ निर्माणको लागि नागरिकको सहभागिता र योगदान आवश्यक रहेको बताउँदै योजना निर्माण तथा कार्यन्वयनमा पनि उत्साहपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले सीमित आयस्रोतमा नागरिकका आवश्यकताहरुलाई एकैसाथ पूरा गर्न असमर्थ रहेको बताउनुभयो ।

‘एकैपटक सबै योजना तथा नीतिहरु पूरा गर्न आर्थिक तथा अन्य असहजता भएको हुँदा क्रमैसँग तपाईका मागहरु पूरा गर्न हामी तल्लिन छौँ ’उपाध्यक्ष रानाले भन्नुभयो ‘नागरिकको सहभागिताले पालिकाको समृद्धिमा टेवा पु¥याउँद्ध ।’
सार्वजनिक सुनुवाई कार्यक्रममा पैयूँ गाउँपालिकाका लेखा शाखा प्रमुख सरोज पराजुलीले चालु आ.व.मा पालिकाले बनाएका योजनाहरु धेरैमात्रामा पूरा भएको उल्लेख गर्नुभयो ।
उहाँले उपाभोक्ता समिति गठन,तिनीहरुबाट भैरहेका कामहरु तथा ठेक्का प्रक्रियाबाट भैरहेका कामहरुको विषयमा गुनासो कम मात्रामा आएको उल्लेख गर्नुभयो ।
सम्पन्न काम तथा योजनाहरुको भुक्तानी पक्रियामा कागजी प्रमाण तथा प्राविधिक मूल्याङ्कन भएपछि कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।
योजनाका कामहरु गर्दा कुनै पनि कोणबाट घाटा नपर्ने उल्लेख गर्दै प्रमुख पराजुलीले आफ्नो ठाउँको कामहरु गर्दा सबैले सकारात्मक सोँच राखेर काम गरेमा काममा सहजता हुनुका साथै योजना सही समयमा सम्पन्न गर्न सकिने बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले राखेका विकास निर्माण, सामाजिक चेतना,वडाको शैक्षिक विकास,कृषि क्षेत्रमा बीउविजन तथा अन्य विषयका जिज्ञासाहरुको वडा अध्यक्ष गंगाधर अधिकारी,गाउँपालिका उपाध्यक्ष याम कुमारी राना तथा लेखा शाखा प्रमुख सरोज पराजुलीले जवाफ दिएका थिए ।