असार १८,वालिङ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाद्वारा आयोजित पत्रकारिता तालीम सम्पन्न भएको छ । वालिङ नगरपालिका ६ मिर्दिमा ३ दिन सम्म सञ्चालित तालीमका लागि वालिङ नगरपालिकाले सहयोग गरेको थियो । सोमबार तालीमको समापन गर्दै वालिङ वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले आदिवासी जनजातिको वास्तविक तथ्यांक पहिचान गर्नका लागि वालिङ नगरस्तरीय जनजाति महासंघ गठन योजना बनाएको बताउनुभयो ।
वास्तविक पहिचान गरी जनजातिको भाषा, संस्कार संस्कृति र पहिचानलाई संरक्षण गर्दै अगाडि बढ्ने प्रवक्ता गुरुङले उल्लेख गर्नुभयो । जनजाति समुदायको हरेक क्षेत्रमा पहुँच पु¥याउनका लागि पत्रकारिता क्षेत्रले अहम भूमिका निर्वाह गर्ने उहाँको भनाई छ । निष्पक्ष पत्रकारितासँगै आफ्नो समुदायको पहुँच हरेक क्षेत्रमा पु¥याउन सक्नेगरी लाग्न उहाँको आग्रह छ । आधारभूत तालीमले सामान्य ढोका खोल्ने काम गर्छ र पत्रकारिता क्षेत्रमा लाग्न अवस्य प्रेरित गर्छ । तालीमसहित पत्रकारिताको वृत्ति विकासका लागि नगरपालिकाले आवश्यक थप सहयोग गर्ने विश्वास प्रवक्ता गुरुङले व्यक्त गर्नुभयो । जनजाति समुदायमा क्षमता वृद्धिमा अवरोध पु¥याउने गलत संस्कार विद्यमान छन्, त्यसलाई त्याग्नुपर्ने पर्ने र राम्रो सस्कारको विकास गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङ, वडा नं. ५ का अध्यक्ष छवि आले, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक युगमाया पंगेनी, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेले यो तालीम पत्रकारिता सम्बन्धी सुरुवाती चरण रहेको थप सिकाईसहित पत्रकारितामा लाग्न आग्रह गरेका थिए । यस्तै प्रशिक्षक गोपाल जिटीका साथै सहभागीका तर्फबाट गिरण जिटी र लिलाकुमारी गुरुङलगायतले सिकाईमा आ—आफ्नो अनुभवसहितको मन्तव्य राखेका थिए ।
तीन दिने तालीममा फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस, सुमन गुरुङ, सौर्य न्यूजका प्रधान सम्पादक मोहन गुरुङ, वालिङ टेलिभीजनका गोपाल जिटी र वालिङ एफएमका समाचार प्रमुख कला रानाले सहजीकरण गरेका थिए । तालीममा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।