असार २२,वालिङ ।स्याङ्जाको वालिङमा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको छ ।वालिङ नगरपालिकाको आयोजना र आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेज प्रालि वालिङको समन्वयमा इबिक परियोजना अन्तरगत वस्तु तथा सेवाको प्रदर्शनी एवं प्रतिष्पर्धात्मक कार्यक्रम गरिएको हो ।इबिक परियोजना लागू भएका पालिकाहरुमध्ये वालिङ नगरपालिका उत्कृष्ट भएकाले यहाँ प्रदर्शनी तथा उद्यमीहरुको प्रोत्साहनको लागि प्रतिष्पर्धात्मक कार्यक्रम राखिएको हो ।
दुईदिन सम्म चल्ने प्रदर्शनीको शुभारम्भ गर्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले आगामी आर्थिक वर्ष वालिङलाई दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाउने योजनामा नगरपालिका रहेको बताउनुभयो । यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा ८ करोड बजेट छुट्याएको उल्लेख गर्नुभयो । उद्यमीहरुलाई आर्थिक सहायता गर्न, आवश्यक तालीम प्रदान गर्नुका साथै उत्पादित वस्तुको बजारीकरणको जिम्मासमेत नगरपालिकाले लिने उपप्रमुख गैह्रेले बताउनुभयो । नगरपालिकाभित्र १ हजार २२ जना सुचिकृत उद्यमीहरु छन् । उनिहरुको उत्पादनको अभिलेखिकरण गरेका छौं । उद्यमीलाई आर्थिक समस्या पर्दा निश्चित मापदण्ड बनाई सहयोग गर्नेदेखि सबै काम नगरपालिकाले गर्ने उप प्रमुख गैह«ेले जानकारी गराउनुभयो ।माटो सुहाउँदो खेति गर्नका लागि गाउँगाउँमा प्राविधिकहरु खटाउने, कृषकहरुलाई प्रोत्साहन गर्ने र वालिङलाई अर्गानिक शहरको रुपमा विकास गरिने उपप्रमुख गैह्रेको भनाई छ । उहाँका अनुसार यहाँबाट हुने बसाईसराईलाई रोक्न तथा बैदेशिक रोजगारीको न्युनिकरण गर्न एक टोल एक उत्पादनको कार्यक्रम लागू गर्ने कार्यक्रम छ ।
वालिङ सिटहलमा गरिएको कार्यक्रममा उद्यमीहरुले उत्पादन गरेका झोला, चुरापोते, स्थानीय चामल, नर्सरी, फलफुल, मोडा, गडेयौले मल, पोसाकहरुको प्रदर्शनी गरिएको छ ।