भदौ,२४ वालिङ ।
स्याङ्जाको वालिङमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय खुलेको छ । देशका अधिकांश जिल्लामा सेवा विस्तार गर्दै आएको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको बैंकको २ सय ८२ औं शाखा वालिङमा सञ्चालनमा ल्याइएको हो । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शाखा कार्यालयको आइतबार समुद्घाटन गर्नुभएको हो ।
कार्यालयको समुद्घाटन गर्दै मन्त्री गुरुङले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जनतासँग सहजरुपमा जोडिनेगरी काम गर्नुपर्ने बताउनुभयो । जहाँ उभिएको छ त्यहाँ विश्वास गर्नुपर्ने भन्दै मन्त्री गुरुङले यो ठाउँ र जनताको विश्वास गरेर सेवा प्रवाहमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड काठमाडौका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०२२ सालमा स्थापना भई सञ्चालनमा आएको र देशकै दोस्रो बैंकको इतिहास भएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल सरकारको पूर्ण स्वामित्व रहेको एकमात्र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको करिव ४० लाख ग्राहक संख्या रहेको उल्लेख गर्नुभयो । सबैभन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने भएकाले प्रतिष्पर्धाको बजारमा अगाडि जान सकिने विश्वास व्यक्त गर्नुभयो । वित्तीय पहुँच नपुगेका बिभिन्न स्थानहरुमा यो आर्थिक वर्ष थप ३० वटा शाखा विस्तार गर्ने योजना रहेकोसमेत उहाँले जानकारी गराउनुभयो । यसका साथै किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अगाडि बढाइएको पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उल्लेख गर्नुभयो ।