गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले नागरिकका आधारभूत आवश्यकताहरु गाउँगाउँमै परिपूर्ति गरी गाउँ छाड्ने क्रम रोक्ने बताउनुभएको छ । स्याङ्जाको भीरकोट नगरपालिकाद्वारा सोमबार आयोजित नगरस्तरीय तीजगीत प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो ।
सहज खानेपानीको सुविधा, गुणस्तरीय शिक्षा, व्यवस्थित सडक पूर्वाधारलगायतका आधारभूत आवश्यकताहरुको परिपुर्ति हुन नसक्दा पनि गाउँछाड्ने क्रम बढेको भन्दै प्रदेश सरकारले गाउँ फर्क अभियानलाई अगाडि बढाउने मन्त्री तिवारीले औंल्याउनुभयो । पूर्वाधारको विकास गरी थप सुविधा विस्तारले गाउँबाट स्थानान्तरण हुने प्रणालीलाई रोक्ने उहाँको भनाई छ ।
पछिल्लो समय जथाभावी ग्रामिण सडक विस्तारका कारण खानेपानीका मुहानहरु संकटमा परेका छन् । सडक विस्तार गर्दा पानीको मुहान संरक्षण गरेर मात्र खन्न पाउने नीति प्रदेशले ल्याउने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो । गण्डकी प्रदेशमा अझै पनि खानेपानीको लागि डोको बोक्नुपर्ने अवस्था रहेको भन्दै यो बाध्यताको अन्त्य गर्न आँफू प्रतिवद्ध भएर लागि परेको मन्त्री तिवारीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले लिफ्टिङ खानेपानी महशुल निशुल्क गरेको, सिँचाईको सुविधालाई प्राथमिकता दिएको, किसोरीहरुका लागि पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपको व्यवस्था गरेको, बृद्धबृद्धाहरुका लागि निमोनियाको खोपको निःशुल्क व्यवस्था गरेको, क्यान्सर मृगौला पिडितका लागि १ लाख दिने निर्णय लगायत १९ प्रकारका निर्णयहरु कार्यान्वयनमा आएको मन्त्री तिवारीले बताउनुभयो ।
परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भीरकोट नगरपालिकाले यसवर्षको तीजपर्वका अवसरमा प्रतियोगितात्मक तीजगीत कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले सोमबार तीज पर्वका दिन नगरस्तरीय तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो । यही भदौ २० देखि २९ गतेसम्म वडागतरुपमा प्रतियोगिता गराएर समूह छनौट गरिएको थियो । नगरपालिकाका ९ वटै वडामा प्रथम र द्वितीय स्थान हासिल गरेका १८ मध्ये १७ समूहले नगरस्तरीय तीजगीत प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा गौरीशंकर आमा समूह वडा नंं. ८ ले प्रथम स्थान हासिल गरेको छ । यसैगरी वडा नम्वर २ को सिर्जनशील आमा समूह द्वितीय र वडा नंं ४ को शहनशील आमा समूह तृतीय भएका छन् भने वडा नंं. ६ को जनजागरण आमा समुहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः नगद रु.२५, १५,१० र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस अघि वडागत छनौट प्रतियोगितामा पनि प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई नगदसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको निर्णायकको भूमिकामा शिक्षक तथा कवि मिलन समिर, राजनीतिकर्मी बुद्धिबहादुर राना (कुमार) र रणवीर जनहित माविका प्राचार्य लक्ष्मीप्रसाद रेग्मी रहेका थिए ।
नगर प्रमुख गोविन्द कर्माचार्यको सभातित्वमा भएको कार्यक्रममा स्वागत उप प्रमुख भगवती अर्यालले र ८ नम्वर वडा अध्यक्ष नन्दलाल खनालले सञ्चालन गरेका थिए ।