पाल्पाको रामपुरमा फनपार्क सञ्चालनमा आएको छ । रामपुर नगरपालिका वडा नं. ५ मटेरीमा फनपार्क सञ्चालनमा ल्याइएको हो । आइकोनिक ग्रुप प्रालिको लगानीमा निर्माण भएको रामपुर फनपार्कको सोमबार विधिवत रुपमा उद्घाटन सहित तीजगीत प्रतियोगिता सम्पन्न भएको भएको छ ।
फनपार्कको उद्घाटन गर्दै नगर प्रमुख रमण बहादुर थापाले रामपुरको पर्यटन प्रबद्र्धन र विकासमा यसले थप टेवा पुग्ने बताउनुभयो । नगर भित्र आन्तरिक र बाह्य पर्यटन भित्¥याउनका लागि यस्ता पार्कहरुको महत्वपूर्ण भूमिका हुने भन्दै सञ्चालन सफलताको शुभकामना दिनुभयो । उहाँले नगरको पर्यटन प्रबद्र्धन गर्ने दायित्व स्थानीय सरकारको भएता पनि यसका लागि निजी क्षेत्रले पनि सघाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यसैबीच महिलाहरुको महान चाड तीजको प्रसंग जोड्दै नगर प्रमुख थापाले पछिल्लो समय तीज लगाएत बिभिन्न चाड पर्वको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मौलिक तीजका भाकाको संरक्षण र चाडपर्व मनाउने शैलिको निरन्तरताका लागि सबै लाग्न आवश्यक रहेको उहाँले औल्याउँनुभयो । उहाँले यसको संरक्षणका लागि यस्ता विभिन्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा महिला नेतृ विष्णुमाया ढकालले भड्किलो संस्कारले हरेक संस्कृति र चाडवर्पको महत्व घट्दै गएको बताउनुभयो । विगतको समयमा तीज पर्व मनाउने शैली र अहिलेको शैली धेरै फरक भएको भन्दै मौलिकताको संरक्षण र यसको सुधारका लागि लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
९ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम मिना भण्डारी न्यौपाने रामपुर १० को समूह ,द्वितीय गीता घिमिरे रामपुर ६ को समुह र तृतीय सावित्रा पराजुली रामपुर ५ को समूह भएको छ ।