असोज २०,वालिङ ।
पछिल्लो समय बसाइ सराइसहित गाउँ छाड्ने क्रम निकै बढ्दो छ । योसँगै सुन्दर र हरियाली गाउँवस्ती खाली हुँदै गएका छन् । बसोबास नभएपछि गाउँहरु प्रायजसो जङ्गल र झाडीले भरिएका छन् । नेतृत्व तहदेखि बिभिन्न सामाजिक अभियन्ताहरुले बेला बेलामा बसाईं सराइ रोक्ने कुरा बोल्ने गरेका सुनिन्छन् तर देशमा विद्यमान तीनतहका सरकारले बसाइ सराइ रोक्नका लागि ठोस कदम चालेको पाइदैन । यसको उदाहरण तिनै खाली हुँदै गएका गाउँवस्तीले बताइरहेका छन् । विशेषगरी यातायात, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकासको कमिले बस्ती स्थानान्तरणको क्रम बढ्न गएको हामी धेरैको बुझाई छ ।
देशमा राजनीतिक परिवर्तन त आयो, त्यो परिवर्तनसँगै गाउँ भने खाली हुँदै गए । देश अहिले संघीय संरचनासहितको सत्ता सञ्चालनमा छ । यसैगरी गाउँ छाड्नेको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ । यसरी गाउँवस्ती खाली हुँदै जानु दुःखको कुरा हो । यस्तै खालीहुने मध्ये नुवाकोटको चित्यान गाउँ पनि एक हो ।स्याङ्जा जिल्ला सदरमुकाम रहेको पुतलीबजारदेखि उत्तर ११ किलोमिटरको दूरिमा चित्यान गाउँ रहेको छ । यो गाउँ पुतलीबजार नरपालिकाको वडा नम्वर ५ मा पर्दछ ।
गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री तथा सांसद पञ्चराम गुरुङको गाउँ हो चित्यान । उनी पोखरा बस्छन् भने उनको यहाँ सुन्दर घर छ । हुर्काएँ बढाएँ, पढाएँ सांसद र मन्त्रीहुने बनाएँ, मलाई नै छाडेर गयो, त्यो सुनसान गाउँ र घरले मन मनै दुखेसो गरेको त्यहाँ पुग्नेहरुलाई आभास गराउँछ ।चित्यान वरिपरी रहेका आहाले, एकपाटे र बरंङ्सामा मात्रै ५० घरधुरी सबै खाली छन् । यी घरका मानिस जिल्ला सदरमुकाम स्याङ्जा, पोखरा, काठमाडौलगायतका शहरमा स्थानान्तरित भएका छन् । चित्यानको एक घरमा भोजपुरका शङ्कर राई को परिवार बस्छन् । ज्यामी कामको शिलशिलामा आएका राई गाउँको माझमा उनै पञ्चरामको भन्दा तल्लो घरमा विगत ३० वर्षदेखि बस्दै आएका हुन् ।
राई काम गर्ने शिलशिलामा पूर्वदेखि यो गाउँमा आइपुगेका हुन् । अहिले उनका श्रीमान् श्रीमती यहाँ बस्छन् । गाउँको बसाई छ, जग्गा खाली छन्, सकेको जतिमा खेतिपाती गर्ने, तरकारी फलाउने यसो बसिवियाँलोमा हण्डामा रक्सी पार्ने उनको दैनिकी हो । उनका एक छोरा र एक छोरी पनि आम्दानीको जोहोका लागि पोखरामा सानोतिनो काम गर्छन् ।राई भन्छन्—“यो गाउँका ५० घरका मानिस पोखरा, काठमाडौ तथा मधेश झरे, गाउँ पूरै खाली छ । ज्यामी काम गर्ने शिलशिलामा यहाँ आएँ, उमेरले ५५ वर्ष पुगें ३० वर्षदेखि यहीँ छु । यहाँ आएर छोरा छोरी जन्माइयो हुर्काइयो । तिनै एक छोरा र एक छोरी आम्दानीको जोहोका लागि पोखरामा सानोतिनो काम गर्छन् । म बसेको घरको बुवा पनि पोखरा बस्नुहुन्छ । बिजुली पानी र कच्ची सडक आएको छ, ठिकै छ बाख्रा पाठा पालेका छौं खेतिपाती गरेर खाएका छौं ।” यहाँ हेर्दा बस्दा—गाउँ भन्छ आउ बस, मानिसहरुको सोंचले शहर पस भने जस्तो लाग्छ, राईले थपे ।
चित्यानलाई हेर्दा पढे लेखेका, टाठाबाठा र नेताहरुले नै गाउँ छाडेपछि सर्वसाधारणलाई पनि प्रभावपार्ने अनुमान गर्न सकिन्छ ।