स्याङ्जाको चापाकोट फाँट जिल्लाकै ठूलो र फराकिलो क्षेत्र हो । चापाकोट फाँटलाई खेतियोग्य भूमिकारुपमा लिइन्छ । यहाँको उर्वरतालाई उपयोग गरी उत्पादनमा जोड दिने हो भने जिल्लाबासीलाई पु¥याएर बाहिर निकासी गर्न सकिने किसानहरुको विश्वास छ । आकाशे पानीको भरमा खेतिपाती गरिदै आएको चापाकोट टारमा ज्याग्दीखोलाको नहर आएपछि किसानहरुलाई राहत महसुस गराएको हो ।
यहाँको आवस्यकतालाई मध्येनजर गरी २०२३ सालमा सर्वेक्षण गरी चापाकोट नगरपालिका वडा नम्वर ४ दार्शिङमा नहर निर्माण भएको हो । २०२६ देखि निर्माण थालनी भई २०५० सम्म आइपुग्दा आयोजनाले कच्ची नहर तयार गरी सिंचाई सुरु भएको हो । अहिले २०८० सालसम्म पनि नहर पक्की बन्ने कामले पूर्णता पाएको छैन । पाँच दशक पार गर्दासम्म पनि पक्की बन्न नसक्दा नहर आए पनि किसानहरुलाई ढुक्कहुने अवस्था छैन ।

चापाकोटको सुन्तलीटार जहाँ नगरपालिकाको कार्यालयसमेत रहेको छ । यहाँदेखि २७ किलोमिटर पूर्व दार्शिङमा नेपाल सरकार र एडिभीको साझेदारीमा नहर योजना सञ्चालनमा ल्याईएको हो । अहिलेसम्म सात किलोमिटरमात्र नहर पक्की हुनसकेको छ । यसबाहेक ३ किलोमिटर मेशिनरी प्रयोग छ भने बाँकि १७ किलोमिटर सबै कच्चीरुपमा नै छ । यो योजनाबाट १६ सय घरधुरीका १५ हजार भन्दा धेरै नागरिक लाभान्वित हुने चापाकोट टार सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदी बताउनुहुन्छ । झण्डै १२ सय हेक्टरमा बाह«ै महिना सिंचाई सुविधा भएपनि वर्षेनी नहर भत्किने र अवरुद्ध हुने भएकाले किसानहरुलाई चिन्तित बनाएको ९ नम्वर वडा अध्यक्षसमेत रहनुभएका सुवेदीको भनाई छ ।

अध्यक्ष सुवेदीका अनुसार नहर मर्मत सम्भारका लागि भनेर गतवर्ष ४ करोडमा टेण्डर भएको थियो । संघीय सरकारबाट यो बजेट कटौति भयो । क्रमागत अन्तर्गत जम्मा १ करोड बजेट छुट्टिएको थियो, त्यही पनि यो वर्ष परेन । सम्बन्धित निकायमा हार गुहार गरे पनि सुनुवाई नहुँदा थप चिन्तित बनाएको छ । जब वर्षात सुरु हुन्छ, तब यो वर्ष खेति लाउन पाइन्छ कि पाईंदैन भनी उपभोक्ताहरु चिन्तित हुने गर्दछन् ।
कच्ची नहरबाट निर्वाह गर्दै आइएको छ, व्यवस्था फेरियो तर पाँच दशक पार गर्दासम्म पनि अवस्था फेरिन नसकेको उपभोक्ताहरुको गुनासो सुन्नुपर्दा दुःख लागेको अध्यक्ष सुवेदीले उल्लेख गर्नुभयो ।