सधैंको वर्ष झैं मातापिता तीर्थ अन्धा अन्धी क्षेत्रमा भजन कीर्तनसहित भव्य मेला सम्पन्न भएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्वर २ स्थित देविस्थानदेखि अन्धा अन्धी दहसम्म भक्तालुहरुले आज सोमबार बाल चतुर्दशीका दिन सतवीज छर्दै भजन कीर्तन सहित भव्य मेला सम्पन्न भएको हो । उखुबारी टापुस्थित २ नम्वर वडा सदस्य प्रेम शर्मा पौडेलको घरबाट तोरणको विधिवत पूजाआजा गरी बाजागाजासहित अन्धान्धी देविस्थान तथा दहको दर्शन गरिएको छ । सतवीज छर्ने र तोरणसहित सजवीज छर्नका लागि स्याङ्जाका साथै पोखरा, तनहुँ तथा पाल्पा र पर्वत देखि श्रद्धालु भक्तजनहरुको बाक्लो सहभागिता रहेको थियो ।
श्रवणकुमारका मातापिताको समाधीस्थल मानिने अन्धा अन्धी दह आँधिखोलाको उद्गम स्थल हो । परापूर्वकालमा मातापिताका लागि पानी लिन गएका श्रवणकुमारको राजा दशरथको वाँण लागेर मृत्यु भएको पौराणिक कथामा उल्लेख भएको पाइन्छ । शिकार खेल्नेक्रममा झुक्किएर वाँणलागी श्रवणकुमारको मृत्यु भएपछि पश्चाताप गर्दै राजा दशरथले उनका मातापितालाई भेटेर सेवा गरेर पालनपोषण गर्छु भनी आँफूसँग जान अनुरोध गर्दा नमानेर अहिलेको अन्धाअन्धी दह भएको माथिको ओडारमा छोराको विलौना गर्दागर्दै जीवन समाधी लिएको किंवदन्ती छ । रुँदारुदा जीवन समाधी लिएको र उनीहरुको आँसुबाट बनेको दह बगेर आँधिखोला बनेको जनविश्वास छ ।

पौराणिक कथा अनुसार स्थानीयहरुले अन्धाअन्धी दह खोज्दैजाँदा वि. सं.२०१७ सालमा पत्ता लागेको र २०१८ सालमा देविस्थान मन्दिर निर्माणसहित थप व्यवस्थापन गरिएको स्थानीय अग्रज शिव प्रसाद शर्माले जानकारी दिनुभयो । त्यही समयदेखि अन्धाअन्धी देविस्थानदेखि दहसम्म बाला चतुर्दशीका दिन सतवीज छर्ने, भजन कीर्तनसहित दर्शन गर्न सुरु भएको शर्माको भनाई छ । सतवीज छर्नुका साथै तोरण टाँग्नेहरुले उँखुबारी टापुस्थित स्थानीयको घरबाट विधिवत पूजा आजा गरेर बाजागाजसहित अन्धाअन्धी दहको दर्शन गर्ने गर्दै आएको २ नम्वर वडा अध्यक्ष कमल प्रसाद पौडेलले जानकारी दिनुभयो । पछिल्लो समयमा स्याङ्जासहित पोखरा काठमाडौ तथा पश्चिमी क्षेत्रबाट दर्शन गर्न आउने गरेका वडा अध्यक्ष पौडेलले बताउनुभयो । अन्धान्धी दहको धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले टाढा टाढादेखि भक्तजनहरु आउने गरेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । अन्धाअन्धी दह मातापिता तीर्थकारुपमा विश्वास गरिदै आएको छ भने आँधिखोला गाउँपालिकाकै महत्वपूर्ण र आकर्षक गन्तव्य बनेको उहाँले उल्लेख गर्नुभयो ।
अन्धाअन्धीको समाधी स्थलमा मूर्ति निर्माण तथा देविस्थान मन्दिर स्थापनाका लागि पालिकाको सहयोग रहेको वडा सदस्य पौडेलले जानकारी दिनुभयो । यसकासाथै स्थानीय गाउँबासीले वर्षेनी दहसम्म जाने बाटो सरसफाई, दर्शनार्थीहरुका लागि आवश्यक सहयोग गर्दै आएको उहाँको भनाई छ ।