Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बनाउने भनेको मिनी रङ्गशाला निल्नु न ओकल्नु

वालिङमा बनाउने भनेको मिनी रङ्गशाला निल्नु न ओकल्नु

  • गोपाल जिटी
  • मंगलवार, पौष १० २०८०


  • वालिङमा बनाउने भनेको मिनी रङ्गशाला निल्नु न ओकल्नु

    पुस १०, वालिङ 

    गतवर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता हुने भएपछि स्थानीयबासी सबैमा खुसी र उमङ्ग छायो । ४० वर्ष अगाडि पहिलो पटक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरेको वालिङले दोस्रो पटक राष्ट्रियस्तरको खेल खेलाउने अवसरलाई सदुपयोग गर्नभन्दै खेलमैदान तयारीमा नगरपालिका लाग्यो ।
    साथदिने बचन सबैबाट पाएपछि नगरपालिका पनि हौसियो । आँफूसँगै जिल्लाका ११ वटै पालिकाले सक्दो सहयोग गर्ने भए । हतार हतार गरेर खेलमैदान तयारीमा नगरपालिकाले जुट्यो । पौने करोडको खर्च गरेर नगरपालिकाले खेलमैदान तयारी पा¥यो ।  यसका लागि ४६ लाख भन्दा धेरै त दुवो लगाउन मात्र खर्च भएको नगरपालिकाको हिसाबमा छ । यसैगरी नपुग जग्गा व्यवस्थापनका लागि नगरपालिकाले प्रकृया अगाडि बढायो । योसँगै मिनी रङ्गशाला बनाउन यहाँका राजनीतिक दल, संघ संस्था सञ्चालक तथा स्थानीय व्यापार व्यावसायीहरुको राय सल्लाह र सहमतिमा नगरपालिकाले कामको थालनी गरेको हो । स्मार्ट नगरको अवधारणामा अगाडि बढेको वालिङका लागि सबैजना स्वरमा स्वर मिलाएर आवस्यक छ, गर्नुपर्छ भनेर लागेका हुन् ।
    फलस्वरुप गतवर्षको आश्विन २७ गतेदिखि वालिङ खेलमैदानमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता भयो । ४० वर्ष पछि वालिङले दोस्रो पटक राष्ट्रियस्तरको खेल खेलाउने अवसरलाई सबैले गर्विलोरुपमा लिइयो । त्यसको लगतै पौष ३० गतेदेखि जिल्लामै ठूलो धनराशीसहितको पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता भएको थियो ।
    अहिले वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्ने भनेको आठौं वालिङ महोत्सव यही खेलमैदानमा गर्ने चर्चा चलिरहेको छ । यसका लागि स्थानीय युवा क्लव, संघ सस्था, राजनीतिक दलहरुबाट यही खेलमैदानमा गर्नका लागि सहमति भएको वालिङ उद्योग वाणिज्य संघका कार्यकारी सचिव बाबुराम रेग्मी बताउँछन् । वालिङ मोड, भिआइपि टोलदेखि जैसी पँधेरासम्मका व्यापारी व्यावसायीहरुलगायत यही खेलमैदानमा गर्नुपर्छ भन्ने अडानमा देखिन्छन् ।
    खेलमैदान पहिला जस्तो खुल्ला छैन । दुवो लगाउने देखि दुईवटा प्यारापिट र एकवटा भलिवल र बास्केटवल कोड बनिसकेको अवस्था छ । यसैगरी खेलमैदानको पूर्वी र उत्तरी भागमा पक्की वाल लगाइएको छ । 
    यहाँ त खुल्ला चौर नै आवस्यक छ, खेलमैदान अन्तै बनाए पनि हुन्छ भन्ने तर्कमा खासगरी खेलमैदान वरपरका नागरिक, क्लव तथा संघ संस्था र राजनीतिक दलहरु देखिन्छन् ।
    एन्फा स्याङ्जाका निवर्तमान उपाध्यक्ष भीम पङ्गेनी भन्छन्—“यहाँ खुला चौर नै आवस्यक छ । विहान बेलुका गएर खेल्न, मर्निङवाक गर्न पनि नपाइने, लगाएको दुवोको संरक्षण छैन, यो ठीक भएन, खेलमैदान अन्तै बनाए हुन्छ ।” यस्तै वालिङ उद्योग वाणिज्य संघका निवर्तमान सदस्य नरेस केसीको पनि भनाई उस्तै छ । यो दुवोसुवो उप्काएर अन्तै लगेहुन्छ, यहाँ विभिन्न औपचारिक कार्यक्रम तथा मेला महोत्सवका लागि खुल्ला राख्नुपर्छ । तर फुटबलर लक्ष्मण रुचाल भन्छन्—यो खेलमैदान वालिङको लागि गौरव हो, यसलाई मिनी रङ्गशाला बनाइनुपर्छ, मेला महोत्सवका लागि विकल्प खोजिनुपर्छ । नगरपालिकाले आफ्नो लक्ष्यमा अगाडि बढ्नुपर्छ । यहाँ धेरै लगानी भैसकेको छ, यो संरचना विगार्नु हुँदैन ।
    नगरपालिकाले भने केही बोलेको छैन । महोत्सव सञ्चालनका लागि सबैको सल्लाह अनुसार गरिने नगर प्रमुख कृष्ण खाँणको भनाई छ । यसका लागि यिनै व्यक्ति, संघ संस्था तथा राजनीतिक दलका आधिकारिक व्यक्तिहरुको सहमति जुटेको थियो । लगाएको दुवोको संरक्षण पनि जति हुनुपर्नेथियो, त्यो नभएको सत्य हो । खेलमैदानको बीचभागमा किला ठोकेर बालबालिकाहरु क्रिकेट खेलिरहेका हुन्छन् भने तारबारमा लुगा सुकाउने र बालबालिकाहरु झ्याँकुसी खेल्ने गरेका देखिन्छन् । न त कुनै रेखदेख नै छ, न त सरोकारवालाको चासो नै देखिन्छ । यस्तो हुनुमा कस्को दोष ? कस्को कमजोरी ? सोचनीय अवस्था सिर्जना गराएको छ । सुरु गरिएको काम सम्पन्न गर्नेतर्फ लाग्ने कि भताभुङ्ग पार्ने ? दुइ थरी कुराको पछि लाग्ने कि ठोस निर्णयमा जाने ? नगरपालिकाको लागि टाउको दुखाईको विषय बनेको छ । 
    यता सातौं संस्करणको महोत्सव सम्पन्न गसिकेको वालिङ उद्योग वाणिज्य संघको आठौं कार्यक्रमकमा कुनै नयाँपन देखिदैन । परम्परा धान्नेमै सीमित रहेको उसको प्रस्तावनाले देखाएको छ । 
    आयोजक वालिङ उद्योग वाणिज्य संघले आफ्नो सचिवालयको भित्तामा दुईथरी व्यानर टागेको छ । एउटामा कार्यक्रम हुने स्थान वालिङ बजार लेखिएको छ भने अर्कोमा वालिङ खेलमैदान उल्लेख गरेको छ । यसरी हेर्दा विवादबाट जोगिन सकिन्छ कि भन्ने आयोजकको चलाखी देखिन्छ । 
    यही खेलमैदान हो जिल्लाबाट दर्जनबढी राष्ट्रिय खेलाडी उत्पादन गर्ने । अन्य औपचारिक कार्यक्रमका लागि झैं खेल र खेलाडीका लागि पायक पर्ने ठाउँ आवस्यक हुन्छ कि हुँदैन ? आवस्यक थिएन भने गतवर्ष सहमति किन गरियो ? वालिङ खेलमैदानलाई मिनी रङ्गशाला बनाउने नगरपालिकाको योजना निल्नु न ओकल्नुको अवस्थामा रहेको आभास गराएको छ । दीर्घकालिन सोंचकासाथ लागेको भनिएको मिनी रङ्गशाला बनाउने लक्ष्य नगरपालिकाको प्रतिष्ठासँग जोडिएको विषय हो । महोत्सव सञ्चालनका लागि वालिङमा वैकल्पिक ठाउँको कमि छैन । यसमा सोंचको कमि हो कि भन्ने लाग्छ ।
    अतः नगरपालिकाले बेलैमा निर्णायमा पुग्न आवस्यक देखिन्छ । 

    images

    मंगलवार, पौष १० २०८०११:३८:३४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend