पुस २२,वालिङ
स्याङ्जाको वालिङमा २ हजार ४ सय २ जनाको कोभिड १९ खोप विद्युतीय अभिलेखिकरण गरिएको छ । उज्यालो यात्रा गैर सरकारी संस्था वालिङले यूनडिपिको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा वालिङमा कोभिड १९ खोप लगाएकाहरुको विद्युतीय अभिलेखिकरण अभियान सञ्चालन गरेको थियो । खोप लगाएकाहरुको रेकर्ड कम्प्युटरको माध्यमबाट राखिनु नै विद्युतीय अभिलेखिकरण हो । उज्यालो यात्राले वालिङका १४ वटै वडामा सहजकर्ता परिचालन गरी तथ्यांक संकलन गरिएको थियो ।
वडा नं. १ मा १ सय ५९, २ मा १ सय ६०, ३ मा २ सय २३, ४ मा १ सय २५, ५ मा १ सय ३१, ६ मा २ सय ७५, ७ मा १ सय १४ जनाको विद्युतीय अभिलेखिकरण भएको छ । यसैगरी वडा नंवर ८ मा १ सय ३८, ९ मा १ सय ७२, १० मा १ सय २४, ११ मा १ सय ६, १२ मा ३ सय , १३ मा १ सय २८ र १४ मा २ सय ४७ जनाको कोभिड १९ विरुद्धको खोप लगाएकाहरुको विद्युतीय अभिलेखीकरण गरिएको उज्यालो यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीका लागि हजारौँ रुपैँया खर्च गरेर बनाईएको विद्युतीय अभिलेखिकरण यो अभियान मार्फत वडा वडामा निःशुल्करुपमा गरिएको उहाँले बताउनुभयो । विद्युतीय माध्यमबाट क्यूआर बनाईएपछि खोप लगाईएको प्रमाण जीवन्त रहने भएकाले आगामी दिनमा फेरि पनि कोरोनाका नयाँ भेरियन्ट आएमा त्यस्ता जटिलतासंँग जुध्न सहयोग पुग्ने अध्यक्ष पराजुलीले उल्लेख गर्नुभयो ।
स्मार्ट सिटिको रुपमा अगाडि बढेकोे वालिङमा हरेक क्रियाकलाप विद्युतीय माध्यमबाट हुने भन्दै यो अभियानबाट छुटेकाहरुलाई पुनः अभिलेखिकरण गरिेने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।