माघ ८, वालिङ
पाल्पाको रामपुरमा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमूना माध्यमिक विद्यालयले जितेको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९ स्वर्ण, ६ रजत र ४ कास्य सहित १७ पदकका साथ रामतुलसीले चौथो पटक रनिङ्ग शिल्ड जित्न सफल भएको हो ।
यसैगरी ५ स्वर्ण, ३ रजत र २ कास्य सहित १० पदकका साथ जनकल्याण माध्यमिक विद्यालय रामपुर १० द्वितीय भएको छ । तृतीय स्थान नवदुर्गा माविले प्राप्त गरेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य सहित नवदुर्गा माविले तृतीय स्थान हात पारेको हो । यसैगरी प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित भूपू सैनिक राईजिङ इङ्लिश स्कुल सान्त्वना भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्तर्गतका १६ विद्याको खेलमा छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए । नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयकोे व्यवस्थापनमा गत विहिबार देखि ३ दिनसम्म रामपुर ६ विजयपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिता समापनका अवसरमा आईतवार पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि पनि भएको बताउनुभयो । उहाँले खेलकुदले खेलको मात्र नभई मानसिक र सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
यस भन्दा अगाडि रामतुलसी माध्यमिक विद्यालयले लगातार ३ पटकसम्म रनिङ्ग शिल्डको उपाधी जितेको थियो ।