माघ २०, वालिङ
पाल्पाको रामपुरमा छैटौँ मेयर कप २०८० सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालनमा शुक्रबार देखि मेयर कप २०८० एवम् विविध बैद्धिक प्रतियोगितात्मक कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेलले राष्ट्र र राष्ट्रियताको पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । नगर प्रमुख थापाले पहिचानका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–“विभिन्न समयमा हुने विविध प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्छ , गाँउका दुर दराजका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न मेयर कप जस्ता कार्यक्रमले सघाउ पु¥याउँछ ।” नगर प्रमुख थापाले खेल खेलाउने मात्र नभई नगरपालिकाले अब बिभिन्न खेलकुदको प्रशिक्षण सहित उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो । खेलाडीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाले बिभिन्न समयमा सम्मान गरेको उल्लेख गर्दै नगर प्रमुख थापाले नगरपालिकाले अब आगामी आर्थिक वर्षमा नगर स्तरीय खेल मैदान निर्माण गर्ने जानकारी गराउनुभयो । साथै प्याराफिट सहितको नगर स्तरीय रङ्गशाला बनाउन आगामी आर्थिक वर्षबाटै काम गरिने गर्ने उहाँको भनाई छ । रामपुरमा धेरै खेल मैदान छन्, कुन स्थान कुन खेलका लागि आवश्यक र उपयुक्त छ त्यसको पहिचानसहित व्यवस्थित गरिने छ । नगर प्रमुख थापाले सीमित स्रोत, साधन र चुनौतिका बीच खेलकुदलाई नगरपालिकाले प्राथमिकता दिंदै आएको भन्दै आगामी दिनमा अझ परिमार्जित र परिस्कृत रुपमा खेलकुदका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
वडा नं. ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भयो । खेल अनुशासनपूर्वक खेलिने मैत्रिपूर्ण लडाँई भएको भन्दै खेलमा हार जीत भन्दा पनि धेरै कुरा सिक्ने अवसर मिल्ने उहाँको भनाई छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले खेलकुद स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शारीरिक मानसिक र बौद्धिक हिसाबले खेलकुद मानव जीवनमा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।